प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै मिलेमतोमा ट्रष्टको जग्गा हिनामिना !
राजसंस्था, पूर्वराजा वीरेन्द्र शाह र उनको नाममा रहेको भौतिक र अभौतिक सम्पति नेपाल ट्रष्टको मातहत ल्याए पनि त्यसको हिनामिना राज्य पक्षबाटै भएको कांग्रेसका सांसद राधेश्याम अधिकारीले दाबी गरेका छन् ।
राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सोमबार सभाको बैठकमा बोल्दै नेपाल ट्रष्टको जग्गा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको मिलेमतोमै हिनामिना गरिएको आरोप लगाएका हुन् ।
सांसद अधिकारीले ट्रष्टको दरबारमार्गस्थित जग्गा प्रधानमन्त्री र उपप्रधानमन्त्री पोखरलेको मिलेमतोमा हिनामिना गरी व्यवसायीलाई दिएको भन्दै अब नारायणहिटी संग्रहालयमै होटल खोल्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले जनताको कुरा नसुनेको आरोप लगाउँदै अधिकारीले नेपाल ट्रष्टको जग्गा हिनामिनामा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको हात रहेको दाबी गरे । उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिकामा पनि गम्भीर प्रश्न उठाए ।
अख्तियार टंगालमा भए पनि नेपाल ट्रष्टको सम्पति हिनामिना हुँदा केही थाहा नभएको र प्रधानमन्त्री नै मुछिएको भ्रष्टाचारमा बोल्दा अफ्ठ्यारो पर्छ भन्ने त्रासमा रहेको आशंका व्यक्त गरे ।
