डडेल्धुरामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
दिपकराज भट्ट (डिआर) –
डडेल्धुरा: डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–११ सल्लाघारी २० वर्षीय भरत बोहरा रहेका छन्।
मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका–१ लिसा कम्पनी नजिकै बस र मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना७ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से४प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषण गरेका थिए।
दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना रहेका छन्। घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

