पत्रकार धम्क्याउनेले माफी मागे
- संजय तिवारी

नवलपरासी १२ पुष ः पत्रकार रवि पाण्डेलाई गाउँ निकाला गर्ने सामाजिक संजालमा धम्कीपुर्ण भाषा लेखेका पश्चिम नवलपरासीको बर्दघाट ४ दिब्यनगरस्थित टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले माफी मागेका छन् ।
बर्दघाट पोष्टमा प्रकाशित सामुदायिक वनहरुले दाउरा वितरण गरे शिर्षकको समाचारको बिषयलाई लिएर उनले बुधवार साँझ पत्रकार पाण्डेलाई फोन तथा सामाजिक संजाल फेसबुकमा टोलबाट निकाल्ने अभिब्यक्ति दिएका थिए । योगीले दिएको अभिब्यक्ति प्रति नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा सहितका पत्रकारका अगुवाले उनलाई सचेत गराएका थिए । त्यस पछि शनिवार नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अगुवाईमा सरोकारवालाबीच भएको बैठकमा उनले आफ्नो गल्ती महसुस गर्दै आइन्दा यस्तो नगर्ने प्रतिबद्धता जाहेर रहेका हुन ।
बर्दघाटमा भएको बैठकमा उनले संचारमाध्यम तथा पत्रकार जगतलाई अपमान गर्ने आफ्नो कुनै नियत नरहेको भन्दै अब देखि संचारमाध्यमको संबेदनशीलता बुझ्ने बताए । उनले आफूबाट प्रेसबिरोधी कुनै कार्य नहुने समेत दोहो¥याए । आगामी दिनमा प्रेस संग सहकार्य गर्र्दै अगाडि बढने योगीले प्रतिबद्धता जनाएका थिए ।
बैठकमा नेपाल पत्रकार महासंघ नवलपरासीका कार्यसमिति सदस्य एंव पत्रकार प्रकाश न्यौपाने, क्रान्तिकारी पत्रकार महासंघका तर्फबाट जिल्ला सल्लाहकार बोल्गा नेपाल समाजसेवी बुद्धिजीवि रुद्रप्रकाश उपाध्यायसहितको उपस्थितिमा योगीले समाचारबारे कुनै समस्या भए कानुन बमोजिम बिषय राख्ने जनाए ।
पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटले शान्तिनगर र दिब्यनगरटोलमा दाउरा नदिएको तर दाउरा वितरण बारे समाचार लेखेको भन्दै बुधवार साँझ उनले आफ्नो मोबाइलबाट वाहियात नलेख्न भन्दै अभिब्यक्ति दिएका थिए । त्यसपछि उनले सो बारेको फेसबुकको स्टाटसमा कमेन्ट लेख्दैं रविलाई टोलबाट निकाल्नुपर्छ भन्ने शब्द लेखेका थिए । त्यो शब्दले आफ्नो अपमान भएको भन्दै पत्रकार पाण्डेले पत्रकार सम्बद्ध संघसंस्थासंग न्याय मागेपछि योगीको अभिब्यक्तिको आलोचना भएको थियो ।
समाचारको बिषयलाई लिएर पत्रकारलाई धम्की दिइएको भन्दै क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समिति सहितले प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकारको शान्ति सुरक्षा प्रति चिन्ता जाहेर गरेपछि योगीले गल्ती महसुस गर्दै माफी मागेका हुन । बर्दघाट पोष्ट दैनिकमा यो समाचार पुष ९ गते बुधवार प्रकाशित भएको थियो । पत्रकार पाण्डे नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष तथा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव प्रदेश पाँचका संयोजक समेत रहेका छन् । उनले जिल्लमा रहेर बर्दघाट पोष्ट दैनिक स्थानीय पत्र साप्ताहिक रुर अनलाइन समेत संचालन गर्दै आएका छन् ।