किन छ पितृमोक्ष महायज्ञ अरु भन्दा पृथक ? के हो त वास्तविकता ?
- आशिष रेग्मी –

नवलपुर। नवलपुरको मध्यविन्दु नगरपालिकामा २०६३ सालमा स्थापित नवजागरण बहुमुखी क्याम्पसले पौष २७ गतेदेखि माघ ६ गतेसम्म श्रीमद्भागवत पितृ मोक्ष एवम् धनधान्याचल ज्ञान महायज्ञ आयोजना गरेको छ ।
यो महायज्ञ यस क्षेत्रमा नै फरक महत्वको महायज्ञ हो भन्ने दाबी आयोजकले गरेको छ । झट्ट सुन्दा लाग्छ यो त हरेक आयोजकले भन्ने बहुउपयोगी भाषा नै हो । जुन स्वभाविक पनि छ । तर यो महायज्ञ गर्नुको उद्देश्य अन्य शैक्षिक संस्थाको जस्तै भए पनि महायज्ञमा हुने उपस्थितिका कारण यो महायज्ञ पृथक नै छ । किनकी यस्तो प्रकारको महायज्ञ यस क्षेत्रमा नै पहिलो पटक आयोजना हुदैछ ।
महायज्ञको नाममा नै धनधान्याचल भन्दा अगाडि पितृ मोक्षलाई प्राथमिकता दिईएको छ (श्रीमदभागवत पितृ मोक्ष एवम् धनधान्याचल विराट ज्ञान महायज्ञ )। यस महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्यको उपस्थिति हुदैछ । बिश्वका वैदिक सनातन धर्मावलम्बीले जानेर या नजानेर, बुझेर वा नबुझेर पाँच जना शिवाचार्यलाई पुज्ने गर्दछन ।
केदारनाथ पिठाधिश तिनै पाँच मध्येका १ हुन । यस महायज्ञमा तिनै शिवाचार्य आएर चोरमाराको क्याम्पस प्राङ्गणमा नै केदारनाथमा जस्तै पितृ मोक्षका लागि बिशेष पुजा गर्नेछन ।
हिन्दु धर्मावलम्बीहरु खासगरी नेपाली पितृ मोक्षका लागि नेपाल तथा भारतका विभिन्न शक्ति पिठ एवम् धार्मिक स्थल धाउने गर्दछन । एकातिर ठूलो रकम खर्च, अर्कातिर लामो समय ब्यवस्थापनको झन्झट। अब त्यो समस्या नरहने भएकाले अथवा भनौ नेपालीहरु पितृ मोक्षका लागि जहाँ जादा सन्तुष्ट हुन्छन र आफ्ना पितृले मोक्ष प्राप्त गरे भनेर तृप्त हुन्छन । त्यही शक्ति पिठका पिठाधिशद्वारा पितृ मोक्षका लागि यहाँ नै बिशेष पुजा हुने भएका कारणले पनि आयोजकले यस महायज्ञलाई फरक र वैदिक सनातन धर्मावलम्बीको लागि एउटा अवसरको रुपमा व्याख्या गरेको छ । आयोजक नवजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्कीका अनुसार पिठाधिश र उहाँका सेवकहरुले पितृ मोक्षमा प्रयोग भएका पूजा सामाग्री त्यसरी नै केदारमा लगेर सेलाउने छन् जसरी केदारनाथमा पुगेर पुजा गर्दा सेलाईन्छ ।
कार्की अगाडि थप्छन “त्यहा (केदारनाथ) गएर पूजा गर्दा शिवाचार्यको दर्शन पाईदैन जसलाई लौकिक भगवान मानिन्छ । धान्याचलमा उहाँको दर्शन र आशिरबचन लिन पनि पाइन्छ । त्यो कारणले पनि हामी सम्पूर्णलाई निमन्त्रणा गरिरहेका छौ र यो एउटा सीमित समयको अबसर हो ।”
उनका अनुसार शिवाचार्य महाराज माघ १ गते चार्टरबाट धार्मिक स्थल देबघाटमा स्नान गरी सिधै महायज्ञ स्थलमा आउने छन् । उनीसँगै भारत तथा नेपालका मुर्धन्य विद्वान् तथा गुरुहरुको पनि उपस्थिति हुनेछ । केदारनाथका पिठाधिश शिवाचार्य महाराज माघ १ गतेदेखि माघ ०५ गते सम्म महायज्ञ स्थलमा रहने जानकारी आयोजकले दिएको छ ।
शिवाचार्य दैनिक रुपमा स्नान गर्नका लागि मध्यबिन्दु ३ स्थित ब्रमस्थानमा पनि जाने कार्यक्रम रहेको छ ।
शिवाचार्य स्नान गरेको ठाउँमा महायज्ञ समापन पछि ब्रमघाट निर्माण गरिने भएका कारणले पनि स्थानियहरु महायज्ञ प्रती उत्साहित रहेको महायज्ञका जनसम्पर्क संयोजक राजु पान्डे बताउछन ।
नवजागरण बहुमुखी क्याम्पसद्वारा आयोजित महायज्ञमा भागवत अलङ्कार पदले बिभुषित पण्डित नेत्रप्रसाद पराजुलीको प्रमुख बाचकत्वमा श्रीमदभागवत सङ्गितमय कथा बाचन हुनेछ ।
क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउने उद्देश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गरिएको आयोजकले बताउदै आएको छ ।