धनुषामा बम विष्फोटमा संलग्न रहेको आरोपमा विप्लव समूहका नेता पक्राउ
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा बम विष्फोट गराएको आरोपमा विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ । प्रहरीले करिब ३ साताअघि भएको बम विष्फोटको मुख्य योजनाकारका रुपमा विप्लव समूहका आदम राईलाई मस्ट वान्टेड सूचीमा राखेको थियो ।
महेन्द्रनगरमा बम विष्फोटनको घटना भए लगत्तै फरार रहेका राईलाई धनुषा प्रहरीले घटनाको करीब २२ दिनपछि पक्राउ गर्न सफल भएको हो । राई विप्लव नेतृत्व नेकपाको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।
राईलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको स्रोतले जनाएको छ । गत मसिर २७ गते राती टाइम बम प्रयोग गरी विष्फोट गराउने मुख्य योजनाकारसहित ९ जनाको पहिचान भइसकेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताएका छन् । तर, उनले राईको पक्राउका विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
राई पक्राउ परेको विषयमा धनुषा प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । प्रहरी निकट स्रोतले भने प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको दाबी गरेको छ । स्रोतका अनुसार प्रहरीले गत १६ पुसमा उनलाई पक्राउ गरेको हो । प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले पनि राई पक्राउका विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको थियो । सो बम विष्फोटमा परि प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित ३ जनाको मृत्यु भएको थियो ।