इरानद्वारा बदलाको चेतावनी
अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि इरानका सर्वोच्च नेताले ‘अपराधीहरूमाथि कडा बदला’ लिने बताएका छन्।
शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले त्यस्तो प्रतिक्रिया दिएका हुन्।
इरानले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ भने रक्षामन्त्री जावेद जारिफले सो घटनालाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनेका छन्।
अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ।
इरानको लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनले सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा काम गर्थे।
जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका हुन्।
इरानका विदेशमन्त्री जावेद जारिफले सो आक्रमणलाई ‘धेरै नै खतरनाक र मूर्खतापूर्ण’ भनेका छन्।
इरानको रिभोलुशनरी गार्ड्सले शुक्रवार सुलेमानीको मृत्यु भएको पुष्टि गरेको त्यहाँको राज्यनियन्त्रित टीभीले बताएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सुलेमानी र इरानसमर्थित विद्रोही नेताहरू दुईवटा कारमा विमानस्थलबाट निस्कदै गर्दा आक्रमणमा परेका थिए।
