अकालमा ज्यान गुमाउनेको आत्मशान्तिका लागि पितृमोक्ष महायज्ञमा विशेष पूजा

चोरमारा (नवलपुर) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसमा हुन लागेको पितृ मोक्ष धनधान्याचल महायज्ञमा अकालमा मृत्यु भएका मानिसहरुको मोक्षका लागि विशेष पूजा गरिने भएको छ ।
पौष २७ गतेदेखि ०६ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत पितृ मोक्ष धनधान्याचल सङ्गितमय विराट ज्ञान महायज्ञमा सडक दुर्घटना, प्राकृतिक प्रकोप, आगलागी, जंगली जनावरको आक्रमण लगायत विभिन्न दुर्घटनाबाट अकालमा मृत्युवरण गरेका मानिसहरुको आत्माको शान्तिका लागि पूजाको व्यवस्था गर्न लागिएको आयोेजकले जनाएको छ ।
अकालमा मृत्यु भएका मानिसहरुको आत्मा भड्किने र भड्किएको आत्माको मोक्षका लागी नारायण वली सहितको सप्ताह वा बिशेष पूजा गर्नुपर्ने गरुणपुराणमा उल्लेख छ ।
भड्किएको आत्माको शान्तिका लागि महायज्ञमा धार्मिक ग्रन्थहरुमा उल्लेखित सबै विधि अपनाएर पूजा गरिने महायज्ञ मुल आयोजक समितिका संयोजक चेतनाथ तिवारीले बताए ।
“आफ्ना परिवारका सदस्यहरु अकालमा गुमाउनु भएको छ भने महायज्ञको सचिवालयमा सम्पर्क गर्न सक्नु हुनेछ हामी उहाँको (स्वर्गीय) नाममा विशेष पूजा गर्नेछौ ” तिवारीले अकालमा परिवारका सदस्य गुमाउनुभएका महानुभाबलाई महायज्ञको सचिवालयमा सम्पर्क गर्न अनुरोध समेत गरे ।
क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागि सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो ।