पर्यटकीय गन्तव्य बन्दै नारायणी धाम

नारायणी नदीको सुन्दरतासँग देखिने चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य निकै मनमोहक लाग्ने भएकाले पनि यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिकाको डण्डादेखि करीब १० किलोमिटरको यात्रापछि आउने नारायणी गङ्गेश्वरधाम परिसर धार्मिक पर्यटन तथा वनभोज स्थलको रुपमा विकास हुँदै गएको छ ।
कावासोती नगरपालिका–१७ अमलटारीमा पर्ने यस क्षेत्रमा २०५२ सालमा महादेवको मन्दिर निर्माण गरेर धार्मिक क्षेत्रको रुपमा विकास गर्न थालिएको थियो । पछिल्लो समय यस क्षेत्रमा वनभोज खान समेत आउने क्रम बढेको धाम व्यवस्थापन समितिका अध्यक्ष युक्तप्रसाद गौडेलले बताउनुभयो ।
खेलकूद विकासका लागि वार्षिक रुपमा विभिन्न खेलकूदका कार्यक्रम समेत गर्दै आएको अध्यक्ष गौडेलले बताउनुभयो । नारायणी धाम परिसरमा आउने व्यक्तिको सुविधाका लागि विश्रामस्थल निर्माण गरिएको छ । धाम परिसरमा वृद्धाश्रम तथा आवश्यक संरचना निर्माणको योजना समेत रहेको समितिले जनाएको छ ।रासस