बर्षाले नवलपरासीमा १३ करोडको इट्टा नष्ट
- रामकुमार श्रेष्ठ –

नवलपरासी, १९ पुस । शुक्रबार भएको बर्षाका कारण पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा गरी १३ करोड रुपैयाँ बराबरको काँचो इट्टा गलेर नष्ट भएको छ ।
पूर्वी नवलपरासीमा शुक्रबार दिनभर परेको पानीले पाँच करोड रुपैयाँको इट्टा नष्ट भएको छ ।
माता मनकामना इट्टा उद्योग देवचुली १ केउरानीका सञ्चालक कृष्ण गौतमका अनुसार नवलपुरमा रहेको ९ वटा इट्टा उद्योगमा गरेर १ करोड काँचो इट्टा नष्ट भएको छ । जसबाट पाँच करोड बराबरको क्षति भएको छ ।
नवलपुरमा मातामनकामना इट्टा उद्योग देवचुली १ केउरानी, नारायणी इट्टा उद्योग देवचुली १६, पशुपति इट्टा उद्योग देवचुली २, केसी इट्टा उद्योग कावासोती १०, नेपाल इट्टा उद्योग कावासोती ९, देवचुली इट्टा उद्योग ढोकी, कावासोती इट्टा उद्योग कावासोती, हेगौली, मनोकामना इट्टा उद्योग मध्यविन्दुर मदनपुर, र तावा इट्टा उद्योग, मध्यविन्दु मदनपुर गरी ९ वटा इट्टा उद्योग रहेका छन् ।
गत हप्ता परेको पानीले पनि नवलपुरमा पाँच करोड रुपैयाँ बराबरको काँचो इट्टा नष्ट भएको थियो । यो समय इट्टा उत्पादन गर्ने समय भएकोले इट्टा उद्योगीहरुले धमाधम इट्टा उत्पादन गर्ने गर्दछ ।
दुई पटक लगातार आएको ठूलो बर्षाले माता मनकामना, देवचुली र नारायणी इट्टा उद्योग शनिबारदेखि उत्पादन बन्द हुने पुगेको माता मनकामना इट्टा उद्योगका गौतमले बताए ।
लगातारको वर्षाले गर्दा इँट्टा बनाएर राखेका ठाँउहरु पानी जमेको छ । पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटाहरु काम नै नलाग्ने भएर बिग्रएपछि उद्योग संञ्चालकहरु चिन्तित बनेका छन् ।
त्यसैगरी पश्चिम नवलपरासीमा पनि बर्षाले करोडौंको काँचो इट्टामा क्षति भएको छ ।
नेपाल इट्टा उद्योग महासंघका केन्द्रिय सदस्य एवम् नवलपरासी इट्टा उद्योग संघ पश्चिम नवलपरासीका पूर्व अध्यक्ष कृष्ण नारायण श्रेष्ठका अनुसार पश्चिम नवलपरासीमा पनि ८ करोड बराबरको काँचो इट्टा बर्षाको कारण नष्ट भएको छ ।
पश्चिम नवलपरासीमा २० वटा इट्टा उद्योग रहेकोमा प्रत्येक इट्टा उद्योगमा १५ लाखदेखि २० लाख गोडा दर काँचो इट्टा नष्ट भएका छन् । २० वटा इट्टा उद्योगमा भएको १५ लाख वटा काँचो इट्टाको दरले भएको क्षतिको करिब ८ करोड रुपैयाँ बरारबरको इट्टा क्षति भएको उनले बताए ।