मयुर पोखरी सामुदायिक वनमा अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी

हुप्सेकोट (नवलपरासी) । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ बेलहानीमा रहेको मयुर पोखरी सामुदायिक वनमा अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
पछिल्लो समय सामुदायिक वनमा वैज्ञानिक वन लागु भएपछि सामुदायिक वनमा उपभोक्ताको आकर्षण बढेसँगै समितिमा जानेको पनि होडबाजी चल्ने गरेको छ ।
वैज्ञानिक वनबाट काठ बेचेर उपभोक्तामा राम्रो आम्दानी हुने भएपछि समितिमा पुग्नेको आकांक्षी बढ्दो छ ।
मयुर पोखरी सामुदायिक वनको अधिवेशन पुस २२ गते मंगलबार हुँदैछ । अध्यक्ष चूडामणि मुखिया थारु नेतृत्वको कार्यकाल सकिए पछि यो अधिवेशन हुन लागेको हो ।
अध्यक्ष पदको लागि भने ६ जनाको उम्मेद्वारी परेको छ । सहमतिबाट अध्यक्ष पदको टुङ्गो नलागेपछि निर्वाचन प्रणालि अन्तरगत जाने निर्णय भएको ३ सदस्यीय निर्वाचन मण्डलका सदस्य तिलकराम पाण्डेले बताए ।
उनका अनुसार अध्यक्ष पदका लागि मदन थापा, तेजप्रसाद पाण्डे, पदमबहादुर कानुङ, तुलबहादुर पाटा, निर बहादुर गाहा र देव बहादुर पाटाले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका सबैले आआफ्नो पक्षका लागि लबिङ्ग सुरु गरेका छन् ।