बाँझोपनको समाधानको लागि ‘मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्छ’




एउटा अध्ययनले पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव दिएको छ।

मेडिकल इथिक्स नामक जर्नलमा प्रकाशित अनुसन्धानको निचोडमा मृत्युपछि शुक्रकीट दान गर्ने व्यवस्थालाई नैतिक रूपमा प्रोत्साहन दिई वीर्यको भण्डारण बढाउनुपर्ने उल्लेख गरिएको छ।




सन् २०१७ मा यूकेमा वीर्यदानबाट २,३४५ बच्चा जन्मिएका थिए।

तर कडा नियमका कारण यूकेभर भण्डार गरिएको शुक्रकीटको परिमाण घट्दो छ।

मृत्युपछि प्रोस्ट्न्ट ग्रन्थीलाई कृत्रिम ढङ्गले सक्रिय बनाएर वा शल्यक्रिया गरेर शुक्रकीट सङ्कलन गर्न सकिन्छ र त्यसपछि त्यसलाई भण्डारण गर्न सकिन्छ।

प्रमाणहरूले मृत्यु भइसकेका व्यक्तिबाट सङ्कलन गरिएका शुक्रकीटबाट पनि राम्रो ढङ्गले गर्भाधान गराउन सकिने र स्वस्थ सन्तानहरू जन्माउन सकिने देखाएको छ।

मानिसहको मृत्यु भएको ४८ घण्टा भित्र शुक्रकीट सङ्कलन गर्नु पर्छ।

लेस्टर विश्वविद्यालयका चिकित्सक नाथन हडसन र म्यानचेस्टर विथेनस्वे अस्पतालका चिकित्सक हुसा पार्करले शुक्रकीट दानलाई अङ्गदानसँग तुलना गरेका छन्।

अरू किसिमको प्रत्यारोपणका लागि अङ्गहरू दान गर्न सकिन्छ भने मृतकबाट लिइने शुक्रकीटलाई पनि बाँझोपन निदानको एउटा उपायका रूपमा हेरिनुपर्ने उनीहरूको तर्क छ।

तर यसमा परिवारको सहमति, विशेषाधिकार र दाताको गोपनियताको प्रश्न जोडिने अनुसन्धानकर्ताहरूको मत छ।

सन् २०१४ मा वर्मिङघममा एउटा शुक्रकीट ब्याङ्क स्थापना भएको थियो जसलाई सरकारले ७७ हजार पाउण्ड अनुदान उपलब्ध गराएको थियो। तर स्थापनाको दुई वर्षपछि नै उक्त ब्याङ्कले ढोका बन्द गरेको थियो र दाता खोज्ने काम बन्द गरेको थियो।

ब्याङ्कमा जम्मा नौ जनाले मात्रै वीर्यदान दिएका थिए जसमध्ये एक जनाले पछि उक्त प्रक्रियाबाट अलग हुने निर्णय लिए।

सन् २००५ को एक कानुनले यूकेमा वीर्यदानबाट जन्मिएका शिशुहरूले उनीहरू १८ वर्ष पुगेपछि शुक्रकीट दातासँगसम्पर्क राख्न सक्ने व्यवस्था गरेको छ।

पूर्ववीर्यदाता जेफरी इनगोल्डले बीबीसीलाई भने. “मृत्युपछि पनि शुक्रकीट दान गर्न मिल्ने व्यवस्थाले अझ धेरै पुरुषहरूलाई दाता बन्न प्रेरणा दिन सक्छ।”

तर कतिपय विज्ञहरूले मृत पुरुषबाट शुक्रकीट सङ्कलन गर्ने विधि ‘पश्चगामी बाटो’ हुने भन्दै युवा र स्वस्थ वीर्यदाताको खोजीमा नै जोड दिनुपर्ने बताउँछन्।



सम्बन्धित
Loading...