नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शंकास्पद विरामीको रिपोर्टिङ गर्ने फारम र रोगबारेको सूचना सामग्री सबैले पाउने गरी उपलब्ध गराइसकेको जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कतासमेत अपनाएको छ ।