बालिका अपहरण भएकाे ५ घण्टापछि उद्धार
आइतबार दिउँसाे २ बजे महानगरीय प्रहरी वृत्त ठिमीमा एउटा सूचना आयो । सूचनाले प्रहरीमाथि तनाव बढायो । सूचना थियो– भक्तपुरको सूर्यविनायकबाट एक बालिका अपहरणमा परेको । उपत्यकाको शान्ति सुरक्षा मजबुद रहेको दाबी गर्ने प्रहरीका लागि यो सूचना अपत्यारिलो थियो । प्रहरी सूचना भेरिफाई गर्नतिर लाग्यो ।
ठिमी वृत्तमा आएको सूचना महानगरीय अपराध महाशाखामा समेत पुगिसकेको थियो । ठिमी प्रहरी र महाशाखाको टोलीले पाएको सूचना सही थियो । भक्तपुरको सूर्यविनायक नगरपालिका– ५, ग्लोरी अंग्रेजी स्कुलमा अध्ययनरत ६ वर्षीया बालिका अपहरणमा परेकी थिइन् ।
उनलाई सर्लाहीका २० वर्षीय आशिष थापाले मोटरसाइकलमा राखेर अज्ञात स्थानतिर लिएका थिए ।बिहान स्कुल आएकी बालिकालाई स्कुल बिदा हुने समयमा स्कुलमै पुगेर थापाले बालिकाको अविभावक हुँ भन्दै मोटरसाइकलमा राखेर लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।
अपहरणपछि बालिकाको परिवारलाई अपहरणकारी आशिष थापाले १६ लाख फिरौती रकम माग गरेका थिए । १६ लाख नदिए बालिकालाई बेपत्ता पार्ने भन्दै धम्कीसमेत दिएका थिए ।
थापाले बालिकाका आफन्तलाई भनेको कुरा उद्धृत गर्दै प्रहरीले भने, ‘तपाईंलाई छोरीको माया लाग्छ भने १६ लाख लिएर सूर्यविनायकस्थित भाटभटेनीमा आउनू, नत्र छोरी बेपत्ता पार्दिन्छु ।’
त्यतिबेलासम्म सूर्यविनायकबाट थापाले बालिकालाई भक्तपुरको घ्याम्पेडाँडाको जंगलमा पुर्याइसकेका थिए । उनले बालिकाकाे दुवै हात पछाडि बाँधेर बन्धक बनाएर राखेका थिए ।
बालिकाका दुवै हात बाँधेर घ्याम्पेडाँडाको जंगलमा छोडेका थापा अन्ततः अपहरण गरेको पाँच घण्टापछि पक्राउ परे ।
उनी फिरौती मागेको रकम बुझ्न आउँदा प्रहरीको फन्दामा परेका हुन् । अपहृत बालिकाका अभिभावक थापाले भनेबमोजिमको रकम लिएर ठिमीस्थित भाटभटेनीमा पुगे । त्यहाँ पुगेर मागबमोजिमको रकम लिएर आएको खबर गरेपछि थापा रकम लिन भाटभटेनीमा पुगेका थिए ।
अविभावकसँगै भाटभटेनी पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई त्यहीँबाट पक्राउ गरेको हो । पक्राउ गर्नु अघिनै प्रहरीले आशिषकाे फाेन ट्याक र बालिका अपहरण गर्दाकाे सीसीटीभी केलाइ सकेकाे थियाे ।
दुवै हात बाँधेर घ्याम्पेडाँडामा छोडिएकी बालिकाको भने रुँदै गरेकाे अवस्थामा घुम्न गएका मानिसको सहयोगमा उद्धार भएको प्रहरीले जनाएको छ ।