घरमा ढकमक्क फूल
घरमा फूल भएको मन नपराउने को नै होला र रु कसैको आफ्नै घर छ, कसैको डेरा । आखिर जे भए पनि हामीले आफू बस्ने आसपासको क्षेत्रको सौन्दर्य बढाउन सक्छौँ । फूल रोप्नु वा फूलबारी बनाउनु यसको सरल उपाय हो । ढकमक्क फूलहरू फुलेको देख्दा कसको मन नरमाउला र रु
त्यसैले आफ्नो घरमा फूलबारी बनाउनुहोस् । यसले तपाईंको घरको सौन्दर्य मात्रै होइन । तपाईंमा सकारात्मक ऊर्जासमेत उत्पन्न गराउँदछ । तर, फूलबारी बनाउँदा विभिन्न कुरामा ध्यान दिनु पनि जरुरी हुन्छ ।
ठाउँको छनोट
गाउँघरमा पर्याप्त ठाउँ हुने भएकाले धेरै ठाउँमा फूलबारी बनाउन सकिन्छ । तर, शहरमा भने त्यो सम्भव हुँदैन । कतिपयले घरअगाडितिर ठाउँ छुट्याएका हुन्छन् भने कतिपयले बार्दली, कौशी, छतमा फूल रोप्ने गर्दछन् ।
झ्यालको आसपास, कौशी वा घरभित्रकै खुला स्थानमा पनि फूल रोप्न सकिन्छ । फूल रोप्नका लागि बार्दली, कौसी एवं छतको अभाव भएमा ह्यागिङ प्लान्टहरू रोप्न सकिन्छ ।
फूलको छनोट
घरमा सकेसम्म सदावहार फूल रोप्नु राम्रो हुन्छ । जो बाह्रैमास हरियो देखियोस् । बाह्रैमास फुलिरहोस् । त्यस्ता प्रजातिका फूलहरू पनि हुन्छन् । मौसमी फूलहरू पनि रोप्न सकिन्छ ।
यसका लागि आफैँले बिउबिजन राख्न सकिन्छ वा नर्सरीबाट ल्याउन सकिन्छ ।
घरमा फूल हुनुका फाइदाहरु
– फूलको सौन्दर्यले मनलाई आनन्दित तुल्याउनुका साथै तनाव कम गर्छ ।
– फूल रोपेपछि त्यसको स्याहारसुसार गर्दा शरीरलाई सक्रिय बनाउँछ ।
– फूल रोप्ने, फूलाउने कुराले हामीमा उत्साह ल्याउँछ ।
– फूलको स्याहारसुसार गरेर मनलाई शान्त बनाउन सकिन्छ यदि तपाईं तनावमा हुनुहुन्छ भने ।
– फूलले घरको सौन्दर्य बढाउँछ । घरमा आउने पाहुनाहरूलाई प्रभाव पर्छ ।
– भान्साबाट निस्कने जैविक फोहोरमैलालाई फूलका लागि मलको रुपमा व्यवस्थापन गर्न सकिन्छ ।
– घरमै फूल भएपछि पूजापाठ गर्दा फूल खोजी हिँड्नु पर्दैन ।