विनोदीका सङ्ग्रहित दुई चित्र एक लाख बढीमा बिक्री
गैँडाकोट । चितवन, नवलपुर र आसपासका क्षेत्रमा कुनै साहित्यिक कार्यक्रम भएछ भने आयोजकले लिने नाम हो, गोविन्दराज विनोदी । गैँडाकोट नगरपालिका वडा नं. ८ निवासी विनोदी पुराना साहित्यकार एवम् पत्रकार पनि हुन् । त्यतिले मात्र उनको परिचय फराकिलो भएको होइन, उनी सानैदेखि चित्र कोर्नमा सिपालु थिए । तर, ६७ वर्षीय विनोदीले चित्रकलालाई व्यावसायिकरुप दिएनन् ।
रहरैले चित्र बनाउने गरेका उनले प्राध्यापनलाई मुख्य पेसा बनाए । पाँच दशकभन्दा बढी समय शिक्षण पेसामा बिताएका उनै साहित्यकार एवम् चित्रकार विनोदीले आजभन्दा ३८ वर्ष पहिले बनाएका एउटा तस्बिर बुधबार ६० हजार रूपैयाँमा बिक्री भयो ।
कलाकार भीम शर्मा सुवेदीको संयोजनमा गैँडाकोटस्थित धार्मिक सेवा समिति (मौलाकालिका मन्दिर)को कार्यालयमा आयोजित एकदिने ‘सामूहिक चित्रकला प्रदर्शनी’का क्रममा विनोदीको चित्र बिक्री भएको हो ।
