कावासोतीमा ब्लड बैंकः बैंक बन्यो, औचित्य भएन




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीले ब्लड बैंक स्थापना गरेपनि ब्लड (रगत) खपत गर्ने अस्पताल नहुँदा समस्या भएको छ ।
नवलपुर जिल्ला र कावासोती क्षेत्र रक्त संकलन अत्यधिक गर्ने क्षेत्रको रुपमा पर्दछ तथापि यहाँ ब्लड बैंक स्थापना भएपनि रगत खपत गर्न सक्ने ठूलो अस्पताल नहुँदा त्यसको औचित्य खासै नदेखिएको सरोकारवालाहरुले बताएका छन् ।
विहीबार नेपाल रेडक्रस सोसाइटी कावासोतीको आयोजनामा भएको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
रेड्क्रस कावासोतीका उपसभापति उदय भण्डारीले ब्लड बैंकको औचित्य पुष्टि गर्न कावासोती र यस आसपासमा तत्काल ठूलो अस्पतालको खाचो रहेको त्यो नभएमा ब्लड बैंकको औचित्य नदेखिएको बताए ।
ब्लड बैंक कावासोतीको ४ सय पोका रगत संकलन गर्ने क्षमता रहेको भएपनि नवलपुरमा शल्यक्रिया गर्ने अस्पताल नभएको र ब्लड बैंक स्थापना भएपनि यहाँ रगत लिन खासै सेवाग्राहीहरु नआएको उनले बताए ।
नेपाल रेड्क्रस उपशाखा कावासोतीमा ब्लड बैंक स्थापना भएपछि तालिम प्राप्त कर्मचारी राखेर प्रत्येक दिन ब्लड लिने र दिने ब्यवस्था गरेको छ तर, बैंक स्थापना भए अनुसार प्रचारप्रसार हुन नसकेको र रगत कावासोतीमा खपत नहुँदा भरतपुर पठाइएको जनाएका थिए ।
तत्काल रगतको अभावमा दुर्घटनामा परेका र अन्य विरामीहरुले ज्यान गुमाउन नपरोस भनेर कावासोतीमा ब्लड बैंक स्थापना गरिएको हो ।
बैंकमा रहेको ब्लड ३५ दिन भित्र प्रयोग गर्न नसके त्यो स्वतः नस्ट भएर जान्छ ।
तत्काल कसैलाई रगत आवश्यक परे नियमित ब्लड (रक्तदान) गर्ने हरुलाई बोलाएर रगतको अभाव हुन नदिने गरेको रेड्क्रस उपशाखा कावासोतीका सभापति बेद प्रसाद न्योपानेले बताएका छन् । ब्लड बैंक स्थापना भएको २ महिनामा १६२ पोका रगत संकलन गरेर भरतपुर पठाइएको उपशाखा उनले बताए ।
नवलपुरमा नै सरकारी वा नीजि अस्पतालले साना ठुलो अपरेसन गर्ने ब्यवस्था गरे कावासोती मानै रगतको ब्यवस्था गर्न सकिने रेड्क्रस कावासोतीका कोषाध्यक्ष बाबुराम कंडेलले बताए ।
कावासोतीमा नै ब्लड बैंक स्थापना गरेर सुविधा दिदै आए पनि कोही पनि नवलपुर बासी सिधै कावासोती ब्लड बैंकमा आएर रगत नलगेको रेड्क्रस उपशाखाका सचिब अमृता सिग्देलले बताइन ।
प्रचार नपुगेको कारणले स्थानीयहरु ब्लड बैंकमा नआएको रेड्क्रसले जनाएको छ ।



सम्बन्धित
Loading...