भारतमा बन्धक दुई चेलीको उद्धार
नवलपरासी ८ फागुन । पसलमा काम लगाईदिने प्रलोभनमा पारेर भारतमा लगि कोठामा बन्धक वनाई राखिएका दुई चेलीको नवलपरासी प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको पहलमा सिमा सुरक्षा चौकी महेशपुरबाट खटिएको प्रहरी र माईती नेपालको टोलीले भारतीय प्रहरीको सहयोगमा भारत महाराजगंज कटरीरोड काम्ता बजारबाट दुई नेपाली चेलीको बुधबार राति उद्धार गरेको हो ।
यस सम्वन्धमा पिडित चेलीहरुका आमाले आफ्नी छोरीलाई विगत ६ महिना देखि घर आउन नदिई शारीरिक, मानसिक र आर्थिक यातना दिई आर्केस्टामा नाच्न लगाई बन्दक बनाई राखेको भनि प्रहरीमा दिएको मौखिक उजुरीका आधारमा चेलीहरुको उद्धार गरिएको थियो ।
प्रहरीले परिवर्तित नाम पिसी र सिसीलाई भारतबाट सकुशल उद्धार गरी नेपाल ल्याएर आफन्तको जिम्मा लगाई थप अनुसन्धान जारी राखेको जनाएको छ ।