२२ महिनामा क्रिकेट रंगशाला बनाइसक्छौं, मुठी खोलिदिनुस् : धुर्मुस
सीताराम कट्टेल ‘धुर्मुस’ले नरेफाँटस्थित लालीगुराँस बाटिका माद्यमिक विद्यालयको १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै अबको २२ महिनाभित्र चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने बताएका छन् ।
विद्यालका अभिभावक र विद्यार्थीबाट संकलित करिब १ लाख ५ हजार रुपैयाँ ग्रहण गर्दै उनले रंगशालाका लागि सहयोग संकलन तीव्रगतिमा भइरहेको पनि जानकारी दिए ।
कट्टेलले भने ‘रंगशालाको काममा दैनिक ३६३ व्यक्ति काममा छन् । जसमा ३५३ जनाले रोजगारीमा काम गरिरहेका छन्, हामी १० जना स्वयमसेवक छौँ’, उनले भने, ‘अहिले थोरै श्रमिक छन् । श्रमिकको संख्या पनि बढाएर अबको चार महिनाभित्र नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल मैदान तयार गर्दैछौं ।’
उनले ३० हजार दर्शक क्षमताको रंगशाला २ महिनाभित्रमा ठडिने पनि जानकारी दिए ।
‘अबको २२ महिनाभित्रमा ३० हजार दर्शक क्षमताको रंगशाला ठडिन्छ’, उनले भने, ‘अहिले हामीलाई पैसाको मात्रै होइन, खाद्यान्न र लत्ताकपडा पनि उत्तिकै जरूरी छ । जे जे छ मुठ्ठी खोल्दिनुस् ।’
‘कोही पनि स्वर्ग पुगेर फर्केर आएको छैन । एकैचोटी आँखा खोल्दा स्वर्गमा कोही पनि पुगेको छै । नेपाल नै स्वर्ग हो’, उनले थेपे, ‘छोरीसँग बसेको जम्मा तीन महिना, छोरी अहिले नजिक पनि आउँदिनन् । सन्तानका लागि बाबाआमा नजिक हुनु नै खुसी हुन् । तर यो दौरानमा चारवटा बस्ती बने, अहिले रंगशालाको अभियानमा छौं । हामीले बनाएका बस्तीका नानीबाबु झोला बोकेर हिँडेको देख्दा आनन्द आउँछ।’
लालीगुराँसबाटिकाका विद्यार्थी र शिक्षकहरुको तर्फबाट एक लाख ४ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको छ। विद्यालयका निर्देशक सुदर्शन पराजुलीले उक्त रकम शनिबार धुर्मुसलाई हस्तान्तरण गरे ।