कोरोना संक्रमण फैलिएको देशमा हवाई उडान रोक्ने नेपाल सरकारको तयारी
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म देखिएपछि विश्वभर कोरोनाकै चर्चा छ । भाइरस फैलिएकै देश चीनसंग जोडिएको नेपालमा केही मतलब गरेको देखिएन । जब विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राख्यो तब मात्र नेपाल सरकार तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएर कोरोना संक्रमण भित्रिन नदिने तयारी थालेका छन् ।
सरकारले पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री समेत रहेको यो समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्नेछ र रोकथामका लागि आवश्यक निर्णय गर्नेछ ।
स्रोतकाअनुसार बैठकमा कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न निर्दशन दिएका छन् ।