कावासोतीमा ३ दिने मौरी पकेट अभिमुखीकरण कार्यक्रम सम्पन्न
खगेन्द्र पराजुली
२४ फागुन, नवलपुर ।
कावासोतीमा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी पकेट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कावासोतीको कृषि उपज केन्द्रको सभाहलमा बिहीवारदेखी सञ्चालित ३ दिने अभिमुखीकरणको आज समापन भएको हो ।
समापन कार्यक्रममा कावासोती वडा नम्वर १ का वडाध्यक्ष नारायणप्रसाद पन्तले किसानलाई बिभिन्न बिधाका कार्यक्रममार्फत स्तर बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै समापन कार्यक्रममा बोल्दै कावासोती मौरी पालन पकेट सञ्चालक समितिका संयोजक एवं प्रशिक्षकमध्येका एक चण्डीकाप्रसाद लामिछानेले मौरी पालन ब्यवसाय मौरी पाल्ने ब्यवसायीका लागी मात्र नभई आम कृषि क्षेत्रका दाल, तेलहन, फलफूल, पुष्प खेती लगायतलाई प्रत्यक्ष अप्रत्यक्ष फाईदा पुग्ने ब्यवसाय समेत भएकाले यसलाई प्रोत्साहन गर्नैपर्ने बताउनुभयो ।
वहाँले फरक प्रसंगमा कृषकहरु पनि यो देशका बास्तबिक नीति निर्माता भएको जिकिर गर्नुभयो ।
तीन दिनसम्म सञ्चालित अभिमुखीकरणमा गोर्खा मौरी उद्योगका सञ्चालक प्रा.डा. खेमराज न्यौपाने, सागर मौरी घार उद्योग गैडाकोटका सञ्चालक करुणसागर सुबेदी, केन्द्रिय मौरी पालन महासंघका सदस्य प्रकाश अधिकारी कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत राजेश्वर सिलवाल र मौरी पालन पकेट सञ्चालक समितिका संयोजक चण्डीकाप्रसाद लामिछानेले सहभागिलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
तालिममा कावासोती क्षेत्रमा मौरी पालन गरिरहेका तथा मौरी पाल्न ईच्छुक नयाँ गरी २७ जनाले सहभागिता जनाएका थिए ।
सहभागीहरुले मौरी पालनमा चरन र बिषादीको मुख्य समस्या रहेको जनाएका छन् ।
समापन कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष नेत्रप्रसाद खतिवडा, रोटरी क्लव कावासोतीका अध्यक्ष भरत शर्मा पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
कावासोती मौरी पालन पकेट सञ्चालक समितिका सचिव शिवप्रसाद पौडेलले स्वागत गर्नुभएको सो कार्यक्रमको अध्यक्षता संयोजक चण्डीकाप्रसाद लामिछानेले गर्नुभएको थियो भने सञ्चालन कृषि ज्ञान केन्द्र तनहुका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले गर्नुभएको थियो ।
