नवलपुरमा खोला नदीमा चोरी निकासी बढ्यो
नवलपुर, फाल्गुन २४ । पूर्वी नवलपरासी जिल्लाका विभिन्न खोलाहरुबाट प्राकृतिक स्रोतको दोहन हुने गरी अबैध रुपमा चोरी निकासी हुने गरेको छ ।
नारायणी नदीका साथै झराही, सुख्खा खोला, पत्थरखोला, अरुणखोला, विनयीखोलाबाट गिट्टी, बालुवा, ढुंगा चोरी निकासी बढेको छ । खोलामा एक्साभेटरबाट नै विहानैदेखि खनेर गिटी बालुवा निकाल्ने गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनेको छ ।
नारायणी नदीबाट निकालिएको नदिजन्य पदार्थको प्रत्यक्ष असर मानव वस्तिमा पर्ने भएको छ ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर ९ र चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा पर्ने नारायणी नदीको पानी भित्रबाट नदिजन्य पदार्थ ढुंगा, गिटी र बालुवा निर्वाध रुपमा चोरी निकासी भएको छ ।
तीन दर्जन वढि ट्रक, ट्रयाक्टर र स्काभेटरको प्रयोग गरि नदिजन्य पदार्थ निकाल्ने गरिएको छ ।
गैंडाकोट नगरपालिकासँग पनि कुनै समन्वय नै नगरी गिटी बालुवा चोरी निकासी भइरहेको भन्दै गैंडाकोट नगरपालिकाले यसबारे चासो देखाएको छ ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सो विषयमा तत्काल बुझ्ने बताए ।
गैंडाकोट नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक विष्णुकुमारी कंडेलले सो स्थलको गैंडाकोट तर्फबाट अनुगमन समेत गरेकी छन् ।