कोरियन भाषा परीक्षार्थीको ३ पटक बायोमेट्रिक, यस वर्षदेखि कृषि क्षेत्रमा परीक्षा नहुने


रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षामा सामेल हुने परीक्षार्थीको अनिवार्य बायोमेट्रिक (औँठा छाप) गरिने भएको छ । कोरियन भाषाका लागि आवेदन दिएसँगै परीक्षार्थीको बायोमेट्रिक (औँठा छाप) गरिने कोरिया वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जानकारी दिएको छ ।



दक्षिण कोरिया जाने श्रमिकका हकमा सन् २०२० देखि अनिवार्य बायोमेट्रिक सुरु गरिएको शाखाले जनाएको छ ।

कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)को प्रस्तावमा बायोमेट्रिक लागू गर्न लागिएको ईपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिएका छन् । विगतमा जस्तो नक्कली परीक्षार्थीको संख्या शून्यमा ल्याउने गरी बायोमेट्रिकसुरु भएको प्रमुख खनालले बताए ।




‘कोरियन भाषा परीक्षामा सहभागी हुनुअघि बायोमेट्रिक परीक्षण गरिनेछ । यसका लागि हरेक परीक्षा सेन्टरमा बायोमेट्रिक परीक्षण गर्न फिङ्गर प्रिन्टको व्यवस्था हुन्छ’, उनले भने, ‘भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको सीप परीक्षण गर्ने बेलामा पनि बायोमेट्रिक जाँच हुन्छ । कोरिया रोजगारीमा जानका लागि सबै प्रक्रिया पूरा भएपछि उड्ने बेलामा पनि बायोमेट्रिक म्याचिङ हुन्छ । मिलेन भने त्यो परीक्षार्थीलाई कोरिया जानबाट रोकिन्छ ।’

विगतमा अरूले कोरियन भाषा लेख्न नक्कली परीक्षार्थी बायोमेट्रिकले अन्त्य हुने उनको विश्वास छ । बायोमेट्रिक परीक्षण गर्नका लागि हाल प्रविधिक विषय मिलाइरहेको उनको भनाइ छ ।

कृषिमा कोटा कटौती

सरकारले रोजगारीका दक्षिण कोरिया कृषि क्षेत्रमा जाने कामदारको कोटा आगामी वर्षका कटौती गरेको छ । कोरिया सरकारले सन् २०२१ का लागि ५ हजार ७ सय जनाको कोटा नेपालका लागि छुट्याएको शाखाले जानकारी दिएको छ । एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच सन् २०१७ देखि कृषि क्षेत्रमा पास भएका परीक्षार्थी लैजान आगामी वर्षको कोटा कटौती गरेको शाखाले जनाएको छ । त्यसका लागि भाषा परीक्षा उत्तीर्ण गरेका ६ हजार ७ सय मात्र छनोट भएको शाखाले जनाएको छ ।

सन् २०२१ मा नेपालीहरूले कृषि क्षेत्रका लागि परीक्षा दिन नपाउने शाखाका प्रमुख खनालले बताए । तर, २ वर्षअघि कृषि क्षेत्रमा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका श्रमिकहरू भने जान पाउने उनको भनाइ छ । कृषिका लागि कोरियन भाषा पास गरेका करिब ५ हजार श्रमिक जान बाँकी रहेको र आगामी वर्ष ती कामदार पठाउने लक्ष्य रहेको प्रमुख खनालले जानकारी दिए ।

सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए, जसमा १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण भएका थिए । त्यसमा उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार जना छनोट भएका थिए ।

ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्नेछ ।

सीप परीक्षणमा पास भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।

ईपीएस भाषा परीक्षामार्फत ६३ हजार बढी नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । हाल करिब ४२ हजार नेपाली कोरियामा कार्यरत रहेको शाखाको तथ्याङ्कमा छ । दक्षिण कोरियाले सन् २००८ बाट ईपीएस भाषा परीक्षा लिएर नेपाली श्रमिक लैजान थालेको थियो ।



सम्बन्धित
Loading...