कावासोतीमा बेमौसमी तरकारी उत्पादन तालिम सुरु

कावासोतीमा ब्यूटिपार्लर प्रथम तह र बेमौसमी तरकारी उत्पादक तालिम सुरु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी प्रदेशको सहयोग, ग्रामीण तालिम केन्द्र सिम्पानी लमजुङ र रिटर्नी माइग्रेन्ट नवलपुर शाखाको समन्वयमा मंगलबारदेखि सो तालिम सुरु भएको हो ।
ब्यूटीपार्लर तालिम कावासोती–२ स्थित इन्टरनेशनल ब्युटीपार्लर तथा ट्रेनिङ सेन्टरमा औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ भने तरकारी उत्पादक तालिमको कावासोती–१४ त्रिभुनीमा उद्घाटन गरिएको छ । रिटर्नी माइगे्रन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले पछिल्लो समय महिलाहरु प्नि उद्यमी बन्नतर्फ अग्रसर हुँदै गएको अवस्थामा यस किसिमको तालिमले महिलालाई आत्मनिर्भर बन्न ठूलो टेवा पु¥याउने बताए । खास गरी आर्थिक अवस्था कमजोर भएर सिप सिक्न नसक्ने महिलालाई निःशुल्क रुपमा प्रदान गरिने यस्ता तालिमले उनीहरुको आर्थिक अवस्था सुधारमा सहयोग पु¥याउनेमा जोड दिए ।
कार्यक्रममा ग्रामीण तालिम केन्द्र सिम्पानी लमजुङका प्रमुख सुनिल थापाले संस्थाले निःशुल्करुपमा प्रदान गर्दै आइरहेको तालिमबाट आजसम्म धेरै जनशक्ति उत्पादन गरी स्वदेशमा नै आत्मनिर्भर बन्ने वातावरण तयार गर्नुका साथै वैदेशिक रोजगारीमा जादा समेत यहाँबाट सिकेको सिपका कारण राम्रो फाइदा पुगेको बताएका थिए । थापाले निः शुल्क रुपमा प्राप्त गरेको कारण सहजै रुपमा नलिन प्रशिक्षार्थीलाई अनुरोध गरे । जनताकै करबाट संकलन गरेको रकमबाट सरकारले यस्ता कार्यक्रममा लगानी गरेको हुँदा तालिम अवधिभरी सहभागी भएर दक्ष भएर मात्रै निस्कन्छु भन्ने अठोटका साथ शिप सिक्न आग्रह गरे ।
यस्तै अध्यक्ष थनेतले रिटर्नीले आफ्नै देशमा केही गर्नुपर्छ र उद्यमी बन्नुपर्छ भन्ने सोंचका साथ पछिल्लो समय सिपमूलक कार्यक्रमलाई अगाडि बढाएको भन्दै आगामी दिनमा समेत नयाँ किसिमका कार्यक्रम गर्दै जानेमा जोड दिए । नवलपुर जिल्लालाई गण्डकी प्रदेशकै समृद्ध जिल्ला बनाउने अभियान आफूहरु लागेका कारण सहभागीलाई लगनशिल र अनुशासित भएर तालिममा सहभागी हुन आग्रह गरे । तालिमबाट सिकेको सिपलाई व्यवहारमा परिणत गरेर समृद्ध नेपालको अभियानमा लाग्न समेत उनले अनुरोध गरे ।
६५ दिनसम्म सञ्चालन हुने उक्त तालिममा इन्टरनेशनल ब्युटीपार्लर तथा ट्रेनिङ सेन्टरमा आबद्ध सौन्दर्यकर्मीहरुले प्रशिक्षण प्रदान गर्नेछन् । तालिममा २० महिलाको सहभागिता रहेको छ । यसैगरी मंलबारदेखि नै सुरु भएको बेमौसमी तरकारी खेती तालिमको कृषि ज्ञान केन्द्र सम्पर्क इकाइ कार्यालय कावासोतीका कार्यालय प्रमुख मीरा चौधरीले उद्घाटन गरिन् । उद्घाटनमा उनले कावासोती क्षेत्र तरकारी खेती तथा कृषिका लागि उपयुक्त भएकाले व्यवसायिकरुपमा अर्गानिक तरकारी उत्पादन गर्न सके राम्रो आम्दानी लिन सकिनेमा जोड दिइन् । कृषिका लागि सरकारबाट समेत विभिन्न सहुलिय र अनुदानका कार्यक्रम रहेको हुँदा त्यस्ता कार्यक्रमलाई किसानमुखी बनाउन कार्यालय लागि परेको भन्दै चौधरीले एक्लाएक्लै रुपमा भन्दा सामूहिक रुपमा उत्पादन गरेर एउटै गाउँबाट बढी भन्दा बढी उपज निकासी हुने वातावरण बनाउन सके बजारको समेत समस्या नहुने बताइन् ।
कार्यक्रममा ग्रामीण तालिम केन्द्र सिम्पानी लमजुङका प्रमुख सुनिल थापा, लेखा अधिकृत अच्यूतराज रेग्मी, वडा सदस्य दानबहादुर महतो, प्रशिक्षक तीर्थराज कोइरालालगायतले बोलका थिए । कार्यक्रम रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेश अध्यक्ष नेत्र थनेतको अध्यक्षतामा भएको थियो । तालिममा २० जना कृषकको सहभागिता रहेको छ । तालिम ६५ दिनसम्म सञ्चालन हुनेछ ।