दुई सातादेखि बेपत्ता पौडेल पामेकोे ड्याममा मृत भेटिए


दुई सातादेखि पोखराको पामेबाट बेपत्ता भएका हरिप्रसाद पौडेल मृत अवस्थामा फेला परेका छन् ।



पर्वत फलेवार नगरपालिका–१ कार्कीनेटा घर भइ हाल पोखरा महानगरपालिका–२४ डाँडाखेत बस्दै आएका ३३ वर्षीय पौडेलको बिहीबार शव फेला परेको हो ।

गोरुलाई औषघि किन्न भन्दै २२ फागुनमा बजार गएका पौडेलको शव बेत्यानी (पामे खोला) मा बन्दै गरेको ड्याममा पुरिएको अवस्थामा भेटिएको आफन्त धनप्रसाद पौडेलले जानकारी दिए ।




उनका अनुसार पोखरा महानगरपालिकाले फेवातालको सिरानामा बनाउदै गरेको सिल्टेसन ड्यामका लागि राखिएको ढुङ्गा, गिटीले पुरिएको अवस्थामा पौडेलको शव फेला परेको हो ।

बजार गएका पौडेल घर नफर्किएपछि २३ गते उनका परिवारले प्रहरीलाई मौखिक जानकारी दिएका थिए । लामो समय बितिसक्दा समेत कुनै जानकारी नपाएपछि फागुन २६ गते उनी हराएको भन्दै परिवारले खोजी गरिदिन वडाप्रहरी कार्यलय बैदाममा लिखित निवेदन दिएका थिए ।

दुई सय रुपैयाँ लिएर गोरुलाई औषधि किन्नका लागि बजार गएका पौडेल सिल्टेसन ड्यामभन्दा माथिको बाटो हुँदै घर फर्कने क्रममा ड्यामको पोखरीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

ड्याम भन्दा माथिल्लो किनारामा उनको ज्याकेट, मोबाइल र गोरुका लागि ल्याएको औषधि लगायतका सामग्री भेटिए पछि ड्याममा खसेको आशंकामा प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

घर फर्कने क्रममा साँझ झिरबाट लडेर ड्याममा खसेको र भोलिपल्ट स्काभेटरले ढुङगा गिटीले निकाल्ने क्रममा पुरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

पौडेलको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाका वारेमा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...