कोरोनाभाइरसः विश्वभरि मृतकको सङ्ख्या दश हजार नाघ्यो
कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरि १० हजार नाघेको पुष्टि भएसँगै सरकारहरूले मानिसको आवतजावतमाथि थप प्रतिबन्धहरू लगाइरहेका छन्।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या विश्वभरि झण्डै दुई लाख ५० हजार पुगेको छ भने ८० हजार सङ्क्रमितहरूलाई निको भइसकेको छ।
चीन, इटली र इरानपछि कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या हजार नाघ्ने देश स्पेन बनेको छ।
चिनियाँ सरकारले चीनभित्रै कोरोनाभाइरसको नयाँ सङ्क्रमण नदेखिएको दोस्रो पटक जनाएको छ।
कोरोनाभाइरसको सङ्क्रमणका कारण चीनमा भन्दा इटलीमा धेरैको मृत्यु भएको पुष्टि बिहीवार भएको थियो।
स्कटल्याण्ड सरकार प्रमुख निकोला स्टर्जनले स्वास्थ्य सुझाव मान्न सबैलाई अपील गरेकी छन्।
फ्रान्सका एक वरिष्ठ मन्त्रीले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्नका लागि युरोपेली सङ्घले इटलीलाई एक्लै छोडे उसको अर्थतन्त्र सही अवस्थामा फर्कन नसक्ने चेतावनी दिएका छन्।
जर्मनीका ठूला मध्येका राज्य बभेरिआले शनिवारदेखि मानिसको आवतजावतमा थप कडा प्रतिबन्धहरू लगाउँदैछ।
उक्त राज्यका प्रमुखले मानिसलाई समूहमा नबस्न र केही कार्यक्रम नगर्न गरिएको आग्रहलाई कतिपयले बेवास्ता गरेको भन्दै त्यसको निन्दा गरेका छन्।
कोरोनाभाइरसको महामारीसँग जुझ्न थुप्रै देशले विभिन्न खाले कदम चालिरहेका बेला विश्वव्यापी शेअर बजार स्थिर बन्न पुगेको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा भने कोरोनाभाइरस फैलिन नदिन भन्दै ४० लाख मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।
सो राज्यका गभर्नरले मे महिनासम्म राज्यको आधाभन्दा बढी जनसङ्ख्यालाई उक्त भाइरसले सङ्क्रमित गर्ने प्रक्षेपण गरिएको भन्दै सचेत गराएका छन्। BBc