बुटवलमा आइसोलेसन अस्पताल तयार

कोभिड १९ को आशंका गरिएका र त्यस्तै लक्षण देखिएका बिरामीको उपचारका लागि बुटवलमा छुट्टै अस्थायी आइसोलेसन अस्पताल निर्माण गरिएको छ। बुटवल उपमहानगरपालिकाको अगुवाईमा रामनगरस्थित धागो कारखानामा आइसोलेसन अस्पताल निर्माण गरिएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक सहयोग रहेको अस्पतालमा दुईवटा हलभित्र ४८ वटा बेड तयार गरिएका छन् भने बाहिर नेपाली सेनाले टेन्ट लगाएर ५२ वटा बेड तयार गरेको छ।
चौबीस घण्टामा निर्माण पुरा गर्नेगरी शुक्रबार दिउँसोदेखि अस्पताल निर्माण गर्न थालिएको भएपनि धागो कारखाना वर्षौदेखि बन्द रहेको कारण रङरोगन गर्दा थप एकदिन लम्बिएको उपमहानगरपालिकाले जनाएको छ ।
बिरामीको उपचारको लागि आवश्यक बेड, अक्सिजन तथा भेन्टिलेटर समेत तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाले जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन तथा कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई यहाँको जिम्मेवारी दिइएको छ।
अस्पतालमा आइतबार साँझदेखि नै तत्कालको लागि डा. थापाको नेतृत्वमा चारजना चिकित्सकसहित स्वास्थ्यकर्मी तथा प्राविधिकको २० जनाको टिम खटिने छ। आइसोलेसन अस्पतालमा कोरोनाको आशंका गरिएका र त्यस्तै लक्षण देखा परेका विरामीहरुको उपचार गरिने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।
डा. खनालले कोरोनाको आशंका गरिएका विरामीहरुको ल्याब परीक्षणको लागि आइसोलेसन अस्पतालमै नमूना संकलन गरी प्रादेशिक अस्पतालमा परीक्षण गरिने र आवश्यक परे अन्यत्र पठाइने बताए।
लुम्बिनी प्रादेशिक अस्पतालमा भेन्टिलेटर सिमित संख्यामा रहेका कारण गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले भेन्टिलेटर उपलब्ध गराएको जनाएको छ। यस्तै निजी अस्पतालहरुले समेत आइसोलेसन अस्पतालको लागि आवश्यकता अनुसार उपकरण र जनशक्ति समेत उपलब्ध गराउने बताएका छन्।