कावासोतीमा भोलिसम्ममा २० शैयाको क्वारेन्टाइन होम बन्ने




कावासोती, १० चैत्र । पूर्वी नवलपरासीको कावासोतीमा मंगलबारसम्ममा २० शैयाको क्वारेन्टाइन होम बन्ने भएको छ ।
विदेशबाट आएका तथा शंकास्पद विरामीहरुलाई १४÷१५ दिनसम्म अन्यको सम्पर्कमा आउन नदिनका लागि उक्त क्वारेन्टाइन होम बनाउन लागिएको हो ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरले कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालमा २० शैयाको क्वारेन्टाइन होम निर्माण कार्य शुरु भएको बताए ।
यहाँ जिल्ला प्रशासन, कावासोती नगरपालिका, नवलपुर उद्योग वाणिज्य संघ, कुमारी निजी शैक्षिक गुठी लगायतको सहकार्यमा क्वारेन्टाइन होम तयारी गर्न थालिएको हो ।
सोमबार नै काम सक्ने गरी काम थालिएको भए पनि आइतबार केही स्थानीयले विरोध गरेपछि केही समय काम राखिएको थियो । आइतबार सरसफाई लगायतका काम भएको र त्यहा नपुग सामग्री कावासोती नगरपालिकाबाट थप गर्ने गरी तयारी भईरहेको घिमिरेले जानकारी दिए ।
कुमारी निजी शैक्षिक गुठीका प्रमुख दिपक श्रेष्ठले प्रस्तावित अस्पतालमा केही वेड लगायतका सामग्रीहरु त्यही रहेको र बाँकी थप गरेर तयारी हुने बताए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले कोरोनाको सम्भावित क्षति न्यूनीकरणका लागि नवलपुर जिल्ला भरी उच्च सतर्कता अपनाइएको बताए । त्यसैगरी सबै स्वास्थ्यकर्मीहरुलाई पनि विदा नदिई तयारी अवस्थामा राखिएको उनले बताए ।
पछि अवस्था हेरेर क्वारेन्टाइन होम थप गर्न परे केही निजी विद्यालयहरु पनि प्रयो गर्ने नवलपुर प्रशासनले तयारी गरेको छ ।
त्यसैगरी नवलपुरका अन्य स्थानीय तहहरुले पनि क्वारेन्टाइन होम निर्माणको तयारी थालेका छन् ।



सम्बन्धित
Loading...