शंकास्पद बिरामी देखेर नै तर्सिन्छन चितवनका निजी अस्पताल

कोरोना अस्थायी अस्पताल जान बिरामीको आनाकानी


१३ चैत्र, चितवन –
चितवनका अधिकांस निजी अस्पताल कोरोनाको आशंकीत बिरामी देखेर नै तर्सिने गरेको पाइएको छ । बुधवार रातीको एउटा घटनाक्रमले यसलाई थप पुष्टि गरिदिएको छ । मध्यराती कोरोनाको आशंकामा उपचार गर्न चितवन मेडिकल कलेज आइपुगेका एक ब्यक्तिलाई भर्ना नै नगरि फिर्ता गरिएपछि निजी अस्पतालको लापर्वाही सतहमा आएको हो ।



केहिदिनअघि भारतबाट फर्किएका उनि कोरोनाको आशंका लागेपछि छरछिमेक र परिवारको सहयोगमा बुधवार राती करिव १२ः३० बजे सिएमसि पुगेका थिए । करिव आधा घण्टा छलफल भएपनि अस्पताल प्रशासनले बिरामीलाई भर्ना गर्न अस्विकार गरेको आफन्तले बताएका छन । अस्पतालका प्रतिनिधिहरुसंग छलफल चलिरहँदा कोरोनाको आशंका गरिएका बिरामी एम्बुलेन्सभित्रै थिए । आधा घण्टाको छलफलमा आफुहरुको कुरो सुनेपछि अस्पतालका प्रतिनिधि तर्सिएको र भर्ना लिन सक्दैनौँ भनि एउटा कागज थमाइदिएको बताइएको छ ।

‘रातको करिव १२ः३० बजे हामी सिएमसि पुगेका थियौँ, करिब आधा घण्टा जति छलफल भयो, कुरो सुनेपछि अस्पतालका प्रतिनिधिले एउटा कागज दिए’ बिरामीकी पत्नीले कालिका न्युजसंग भनिन– ‘त्यो कागज लिएर हामीलाई कोरोना अस्पताल जान भनियो, तर सिएमसिले बिरामीलाई हेर्दा पनि हेरेन ।’ कोरोना अस्थायी अस्पतालबारे अनभिज्ञ उनिहरु रातको करिब १ बजे सिएमसिबाट बाटो लागेका थिए । अस्पतालबारे बुझ्न आँफुहरु राती नै भरतपुर सरकारी अस्पताल समेत पुगेको उनको भनाई छ ।




भरतपुर अस्पतालबाट पनि कुनै जानकारी नपाएपछि श्रीमानले सिएमसिले थमाएको कागज पनि च्यातिदिएका थिए । कागज च्यातेसंगै कोरोनाको आशंका गरिएका ब्यक्ति पत्निसंगै करिव ८ घण्टाको पैदल यात्रा तय गरि बिहान ८ बजेतीर आँफ्नो घर पुगेका थिए । ‘मेरो बुढालाई संक्रमण भएको हो कि भन्ने मेरो पनि आशंका छ, जतिसक्दो छिटो उपचार गराउन चाहान्छु’ उनले भनिन– ‘उपचारको लागि तपाइँले पनि पहल गरिदिनुप¥यो, हाम्रो पिडा बुझिदिनुप¥यो ।’ बुधवार मध्यरातमा मेडिकलसिटी भरतपुरमा घण्टौँ भौतारिएको यो जोडि भरतपुरबारे त्यति जानकार नभएको स्थानीयले जनाएका छन । जिल्ला प्रशासन कार्यालय चितवनले आईसोलेसन वार्डको अनिवार्य ब्यवस्था गर्न नीजि अस्पताललाई निर्देशन नै दिइसकेको अवस्थामा आशंकित बिरामीले उपचार नै पाउन नसक्नुलाई गंभिरताका साथ लिनुुपर्ने देखिएको छ ।

ट्राभल हिस्ट्रि हेरेर पठाएको सिएमसीको प्रतिकृया
यसैबीच ट्राभल हिस्ट्रि हेरेर मात्रै आँफुहरुले बिरामी रिफर गर्ने गरेको सिएमसीले प्रतिकृया दिएको छ । आशंका गरिएका बिरामीको सम्पूर्ण इतिबृतान्त सुनेपछि मात्रै उपचारबारे निर्णय हुने गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले कालिका न्युजलाई बताउनुभयो ।

कोरोनाको आशंका गर्न मिल्ने प्रशस्त लक्ष्ण भेटिए तत्कालै कोरोना बिशेष अस्थायी अस्पतालमा रिफर गर्ने गरिएको उहाँको भनाई छ । डेडिकेटेड अस्पताल नै बनिसकेको अवस्थामा हामीले गर्ने रिफर नै हो लम्सालले भन्नुभयो – ‘छिटो टेष्ट होस र छिटो उपचार अघि बढोस भन्ने हाम्रो पनि चाहाना हो ।’ आशंका गर्ने प्रशस्त आधार भेटिएको अवस्थामा बिरामीलाई अस्थायी अस्पताल बाहेकमा प्रवेश गराउनु घातक हुन सक्ने लम्सालले उल्लेख गर्नूभयो । लम्सालका अनुसार बिरामी हिँड्न सक्ने र फुर्तीलो जस्तो देखिए मात्रै रिफर गर्ने गरिन्छ ।



सम्बन्धित
Loading...