लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

नवलपरासी, १४ चैत्र । सरकारले कोरोनाबाट बच्नका लागि लकडाउन गरेपछि त्यसको प्रभाव गाउँगाउँमा समेत परेको छ । कतिपय घर भित्रै बसेका छन् त कतिपयले लकडाउनको उल्लंघन गरेर चौरमा क्रिकेट खेल्ने, युवाहरु जम्मा भएर गाउँमा डुल्ने गरेका छन् ।
त्यसैगरी गरी लकडाउन सफल पार्ने बाहानामा कतै गाउँमा अपरिचितलाई प्रवेश निषेध गरेका छन् त कतै एम्बुलेन्स समेत आउन नमिल्ने गरी बाटो बन्द गरिदिएका छन् ।

नवलपुरका अधिकांश स्थानमा अलिहे स्थानीय आफैले बाटो बन्द गरेका छन् तर प्रशासन भने वेखबर रहेको छ ।
यसरी बाटो अवरुद्ध गर्दा एम्बुलेन्स विरामी लिन जान समस्या हुने गरेको र कतिपय एम्बुलेन्सहरु बीच बाटो बाटै फर्किएको आफूले पाएको कावासोतीका पत्रकार नारायण पंगेनीले बताए ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बाटो अवरुद्ध गरेर कानुन आफ्नो हातमा लिने काम गलत भएको भन्दै त्यसो भएको पाइए आफूले हदैसम्मको कारवाही गर्ने बताए ।
कतै केही अप्ठेरो परे प्रहरी प्रशासनलाई खबर गर्ने हो । उच्छ्रिंखल गतिविधि हुने गरी कानुन आफ्नो हातमा लिने होइन । – उनले भने – कहि कतै त्यस्तो गरेको खबर पाए हामी बाटोको अवरोध तुरुन्त हटाउने छौं ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एपी दिपक रेग्मीले आफूहरुले यस विषयमा जानकारी पाएपछि अवरुद्ध बाटो हटाउनका लागि पहल गरेको बताए ।
रेग्मीले भने – यो बेला सबैले सामाजिक सद्भाग र सामाजिक दुरी कायम गर्ने बेला हो । बन्द हड्तालमा जस्तो बाटो अवरुद्ध गर्न पाइदैन । अत्यावश्यक काममा समेत यसले अप्ठेरो पार्न सक्छ ।

कति पय गाउँमा अहिले युवाहरु जम्मा हुने र बन्द हड्ताल गरे जस्तो गरी बाटोमा अवरोध राखेर अत्यावश्यक काममा समेत हिडडुल गर्न नमिल्ने गरी बल प्रयोग गरेर अवरोध सिर्जना गरेका छन् ।
कतिपय ठाउँमा सोही विषयले झडप समेत हुन थालेको छ ।
