रसुवा र तातोपानी भन्सार खुले



माघदेखि बन्द रहेका चिनियाँ नाकामा रहेका दुई भन्सार कार्यालय खुलेका छन्। रसुवा र तातोपानी भन्सार कार्यालय आजदेखि खुलेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिएका छन्।



कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि चीनतर्फका नाका खोल्ने निर्णय गरेको थियो। सोहीअनुसार अर्थमन्त्रालयले नाकामा रहेका भन्सार कार्यालय सूचारु गरेको हो।

कृषि तथा स्वास्थ्यमन्त्रालयका मापदण्ड पालना गरेर वस्तु आयात गर्नेगरी सरकारले नाका सञ्चालन गर्ने निर्णय गरेको थियो।




तोकिएका सबै मापदण्ड पूरा गरेर भन्सार कार्यालय खोलिएको महानिर्देशक दाहालले जानकारी दिए।

यी दुई भन्सार कार्यालय माघदेखि बन्द भएका थिए। सुरुमा चिनियाँ पर्वका कारण केहीदिन बन्द भएका यी कार्यालय चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि खुल्न सकेका थिएनन्।

माघदेखि सयौ कन्टेनर नाकामै रोकिएका थिए। अब खुलेपछि वस्तुको प्राथमिकता हेरेर विस्तारै नेपालतर्फ प्रवेश गर्ने महानिर्देशक दाहालले जानकारी दिए।

‘सरकारले नाका खोल्नुको मुख्य कारण नै दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज होस भनेर हो।हामीले पनि त्यसैगरी वस्तुको प्राथमिकता हेरी जाँचपासलाई अगाडि बढाउछौ’ दाहालले भने।

उनकाअनुसार भन्सारमा स्वास्थ्यदेखि कृषिसम्मका सबै कर्मचारीहरु सम्पर्कमा आइसकेको र आजदेखि नै आयात कन्टेनर प्रवेश गर्नसक्नेछन्।

भन्सारमा डिसइन्फेक्सनलाई पूर्ण रुपमा पालना गरिएको छ। सबै भन्सारमा पालना गरिएको यो प्रक्रिया यी दुई भन्सारमा पनि लागू हुने छ।

‘नेपालका सबै भन्सार कार्यालयमा जस्तै सबै कन्टेनरलाई डिसइन्फेक्सन गरिने छ। त्यस्तै कतिपय कन्टेनरलाई क्वारेन्टाइनमा राखिन्छ १४ दिनसम्म। भन्सारमा पहिले कृषिवस्तुकोमात्र क्वारेन्टाइन थियो। तर अब भने स्वास्थ्यको पनि हुने छ’ दाहालले भने।



सम्बन्धित
Loading...