चितवनका अस्पताललाई पीपीई वितरण

चितवनका सरकारी र निजी अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराइएको छ । कोरोना नियन्त्रण कार्यदल भरतपुरले शुक्रबार जिल्लामा रहेका अस्पतालहरुलाई पीपीई हस्तान्तरण गरेको हो ।
कार्यदललाई विभिन्न समयमा प्राप्त भएका र कार्यदलले नै खरिद गरेका पीपीई कार्यदल संयोजक एवम् भरतपुर महानगर प्रमुख रेनु दाहालले अस्पताल प्रतिनिधिहरुलाई हस्तान्तरण गरिन् ।
भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई एक सय थान, चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेलाई ५० थान, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का निर्देशक डा. मनोहर प्रधानलाई ५० थान पीपीई हस्तान्तरण गरिएको छ ।
यस्तै निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायण सिंह कुवँरलाई ६० थान, भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिपक सुवेदीलाई ६० थान र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्लाई १० थान पीपीई नगर प्रमुख दाहालले हस्तान्तरण गरिन् ।