लकडाउनको कारण यस बर्षको थारु समुदायको संसारी पूजा स्थगित

कावासोती । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने संसारी पूजा यस बर्ष स्थगित भएको छ ।
हरेक बर्ष चैत्र पूर्णिमा दिन गरिने संसारी पूजा यस बर्ष चैत्र २६ गते परेको थियो । यो पूजा देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई (देवी) थानमा गएर गर्ने गरिन्छ ।
श्रीथान कुमारवर्ती माई (देवी) संरक्षण समिति नवलपुरको सचिव पतिराम थनेतले कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको समर्थन गर्दै यस बर्षको संसारी माइको पूजा स्थगित गरिएको बताए ।
नवलपुर र चितवनका थारु समुदाय पूर्णिमाको दुई अघि अर्थात आज नै त्यसतर्फ लाग्ने गर्दथे । एक दिन अगाडि कृतिपुरमा बास बसी २६ गते अर्थात चैत्र पूर्णिमाको दिन संसारी माइको पुजा गर्ने गरिन्थ्यो ।
सोही स्थानमा पाँच बर्षमा एक पटक भने कन्तरी माइको पूजा गर्ने प्रचलन थारु समुदायमा रहेको छ ।
रोगव्याधी अन्त्यको लागि थारु समुदायले कन्तरी माइ र संसारी माइको पूजा गर्ने गर्दछन् ।
चैत्र पूर्णिमाको दिन अर्थात चैत्र २६ गते स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा गरिने पूजा भने सर्वसाधारणको उपस्थिति विना पूजारी मात्र बसेर गरिने भएको थनेतले बताए ।