सार्क राष्ट्रमा काेराेना : कहाँ कति प्रभावित ?


काठमाडौं, २५ चैत्र । विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेभिड-१९ अर्थात् काेराेना भाइरस दक्षिण एशियाली मुलुक (सार्क) मा तुलनात्मक रूपले कमजाेर देखिए पनि पछिल्लाे समय यसकाे फैलावट र मृत्यदर बढ्दै गइरहेकाे छ ।



दक्षिण एशियाली ८ मुलुकमा अहिलेसम्म काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या २१७ पुगेकाे छ भने १० हजार २४५ जना संक्रमित भएकाे विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । सबैभन्दा बढी मृत्यु र संक्रमित भारतमा फेला परेका छन् ।




भारत

हालसम्म दक्षिण एसियाली (सार्क क्षेत्र) देशहरूमध्ये काेराेना भाइरसबाट सबैभन्दा बढी भारतमा मृत्यु भएकाे छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १३६ पुगगेको छ भने संक्रमितकाे संख्या ५ हजार ७७८ पुगेको वर्ल्डाेमिटर्सले जनाएकाे छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै १९ जनाको मृत्यु भएको छ । सोमबार बिहानसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११७ थियो । पछिल्लो २४ घण्टाभित्र भारतमा १ हजार ४८० नयाँ संक्रमित भेटिएका छन् । सोमबार बिहानसम्म भारतमा संक्रमितको कुल ४ हजार २८८ थियो

भारतमा कुल संक्रमितमध्ये ३७५ जना उपचारपछि निको भएका छन् । बाँकी ४ हजार २४७ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ । कोरोनाको प्रभाव विस्तार हुँदै गएपछि भारतमा २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ । भारतमा आज लकडाउनको १४ औँ दिन हो ।

पाकिस्तान

भारतपछि पाकिस्तान दक्षिण एशियामा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ। अहिलेसम्म पाकिस्तानमा काेराेनाका कारण ५३ जनाकाे मृत्यु भएकाे छ भने ३ हजार ७६६ जना काेराेनबाट संक्रमित भएका छन् । पछिल्लाे २४ घण्टामा मात्रे त्यहाँ ६ जनाकाे मृत्यु भएकाे छ भने ६०९ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये पाकिस्तानमा २५९ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले पाकिस्तानमा ३ हजार ४५४ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १७ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

अफगानिस्तान

अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण दिन-प्रतिदिन बढ्दै गएको छ । अफगानिस्तानमा अहिलेसम्म काेराेनाबाट ११ जनाकाे ज्यान गइसकेकाे छ । त्यहाँ अहिलेसम्म ३६७ जना काेराेनाबाट संक्रमित भएका छन् । तीमध्ये १८ जना पूर्ण रूपमा निकाे भएका छन् ।

अहिले अफगानिस्तानमा ३३८ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ९ जनाकाे अवस्था भने गम्भीर रहेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।

श्रीलंका

दक्षिण एशियाको अर्को राष्ट्र श्रीलंका पनि कोरोना भाइरसको प्रकोपबाट अछुतो रहन सकेको छैन । श्रीलंकामा काेराेनाका कारण हालसम्म ५ जनाकाे मृत्यु भइसकेकाे छ भने १७८ जना काेराेनाबाट संक्रमित भएका छन् ।

अहिले श्रीलंकामा १३५ जनामा काेराेना सक्रिय रहेकाे छ । कुल संक्रमितमध्ये २८ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५ जनकाे अवस्था भने गम्भी रहेकाे छ ।

बंगलादेश

बंगलादेशमा हालसम्म कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । संक्रमितको संख्या अफगानिस्तान र श्रीलंकाको भन्दा कम भए पनि ती देशको तुलनामा बंगलादेशमा मृत्युदर बढी देखिएको छ।

बंगलादेशमा हालसम्म १ सय २३ जना कोरोना भाइरसबाट संक्रमित बनेको पुष्टि भएको छ । तीमध्ये ३३ जना पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७८ जनामा काेराेना सक्रिय रहेकाे छ । एकजनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

माल्दिभ्स

माल्दिभ्स दक्षिण एशियाको सबैभन्दा सानो राष्ट्र हो । जनसंख्या र क्षेत्रफलको हिसाबले सानो भएपनि माल्दिभ्समा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगिसकेको छ।

कोरोनाबाट माल्दिभ्समा हालसम्म कसैको मृत्यु भएको छैन । संक्रमितमध्ये १३ जना पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६ जनामा काेराेना सक्रिय रहेकाे छ ।

नेपाल

नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत शनिबार कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको हाे । शनिबार यता नपालमा काेराेना संक्रमित भेटिएकाे छैन ।

अहिले नेपालका ८ जनामा काेराेना सक्रिय रहेकाे छ । सुरूमा करिब २ महिना अगाडि चीनकाे वुहानबाट आएका एक विद्यार्थीमा नेपालमा पहिलाे पटक काेराेना पुष्टि भएकाे थियाे । अहिले उक्त विद्यार्थी पूर्ण रूपमा निकाे भइसकेका छन् ।

सुरुमा विदेशबाट हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेकाहरुमा मात्रै कोरोनाको संक्रमण देखिएको थियो। तर दुवईबाट नेपाल फर्केका धनगढीका एक जना युवाकी भाउजुमा समेत कोरोना संक्रमण देखिएपछि सरकारले नेपालमा काेराेना संक्रमणकाे दाेस्राे चरण सुरू भएकाे बताएकाे थियाे ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउनको घोषणा गरेको छ । लकडाउनको अवधि बढाएर सरकारले वैशाख ३ गतेसम्म पुर्‍याएको छ ।

भुटान

भुटान दक्षिण एशियाली राष्ट्रमा कोरोनाबाट सबैभन्दा कम प्रभावित मुलुक हो । हालसम्म भुटानमा ५ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २ जना निकाे भइसकेका छन् । अहिले त्यहाँ ३ जनामा काेराेना सक्रिय रहेकाे छ । सबैकाे अवस्था सामन्य रहेकाे बताइएकाे छ ।



सम्बन्धित
Loading...