नवलपरासीमा आपूर्ति सहज बनाउन माग




लकडाउनको अवस्थामा खाद्यन्न, तरकारी, दुग्ध लगायतका अतिआवश्यक वस्तुहरुको आपूर्ति सहज बनाउन उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासीले माग गरेको छ ।
मञ्चले एक विज्ञप्ति जारी गर्दै जिल्लामा औषधी पसल बाहेक अन्य सवै प्रकृतिका व्यवसायहरु पूर्ण रुपले बन्द गराईदाँ उपभोक्ताको बाँच्न पाउने अधिकार नै कुण्ठित भएको दाबी गरेको छ ।
मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली र जिल्ला सचिव मोहन पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “औषधीजन्य पसल बाहेक दैनिक उपभोग्य वस्तु खाद्यन्न, तरकारी, फलफूल, दुग्धसमेतका व्यवसाय दिनभरी नै खोल्न नपाईने भनि जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले गरेको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”
कोरोना भाईरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनप्रति ऐक्वद्धता जनाउँदै मञ्चले यो समयमा अतिआवश्यक वस्तुहरु उपभोक्ताको माग अनुसार घरघरमा पु¥याउने व्यवस्था गर्न वा आवश्यक सुरक्षा प्रबन्ध मिलाई त्यस प्रकारका व्यवसाय सहज सञ्चालन गर्न दिने व्यवस्था मिलाउन माग गरेको छ ।
“विभिन्न १९ प्रकारका अत्यावश्यक वस्तु तथा सेवा व्यवसाय बन्द गर्न नपाईने नेपाल सरकारको निर्णयका साथै जस्तोसुकै सङ्कटको बेला पनि उपभोक्ताका दैनिक उपभोग्य वस्तु सहज र उचित मूल्यमा पाउनु पर्दछ भन्ने विश्वव्यापी मान्यता विपरित दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु आपूर्ति गर्ने पसल व्यवसाय बन्द गर्नु उचित होईन”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पसलमा भीडभाड नहटेको र साँझपख मानिसहरु सडकमा निस्कन नछोडेपछि जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले बुधबारदेखि जिल्लाका सातै स्थानीय तहमा औषधी पसल बाहेक सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । सोही अनुसार सवै पालिकाहरुले बुधबारदेखि नै आफ्नो स्थानीय तहमा लकडाउन थप कडाई गरेका छन् ।



सम्बन्धित
Loading...