लकडाउनका बेला पनि नवलपुरका किसानहरु खेतबारीमा व्यस्त


तस्वीरः सुनिल श्रेष्ठ, सर्दी नवलपरासी

 



नवलपरासी, २८ चैत्र । देशभर लकडाउनका कारण आक्रान्त भएको छ । कतिपयको हातमुख जोड्न पनि समस्या पर्न थालेको छ । घरमा रहेका खाद्यान्न सकिन थालेका छन् भने आर्थिक समस्या पनि पर्न थालेको छ तथापि नवलपुरका किसानहरु भने लकडाउनका बेला पनि खेतबारीमा व्यस्त रहेको देखिएका छन् ।
यति बेला गहुँ, तोरी लगायतका अन्यबाली स्याहार्ने सिजन हो भने सँगसँगै मकै लगाउने तथा गोडमेल गर्ने बेला हो । त्यसकारण पनि किसानहरु खेतबारीमा व्यस्त देखिने गरेका छन् ।
त्यसैगरी अहिले चैत्र धान लगाउन बेला भएकोले पनि सिमसार क्षेत्रका किसानहरु खेतमा व्यस्त हुने गरेका छन् ।
सर्दीका किसान विनय श्रेष्ठ भन्छन् – यति बेला मकै गोडमेल गर्ने बेला भएको छ त्यसैले लकडाउन भनिए पनि खेतमै दिन वित्ने गरेको छ ।
नवलपुरका भित्री मधेष र पहाडी क्षेत्रमा अहिले मकै बाली लगाइएको छ भने नारायणी नदी किनार आसपासका क्षेत्र, कोल्हुवा, नारायणी, मगरकोट, अमलटोरी, गुद्रेही ढकाहा लगायतका क्षेत्रमा चैत्र धान लगाउन चटारो रहेको छ ।

टाढा टाढा बसेर खेतमा बसेर काम गर्न खासै जोखिम नहुने जिल्ला स्वास्थ्य नवलपुरका प्रमुख केशव चापागाईले बताए । उनले खेतबारीबाट काम सकेर आएपछि व्यक्तिगत सरसफाईमा ध्यान दिने र खेतबारीमा प्रयोग गरेका कपडाहरु घर बाहिरै राख्न आग्रह गरे ।



सम्बन्धित
Loading...