रामग्राम नगरपालिकाले बाढ्याे राहातकाे नाममा कुहिएकाे चामल
स्थानीयले गेटमै लगेर फाले
लकडाउन पछि दैनिक गुजारा चलाउन मुस्किल परेका परिवारलाई स्थानीय सरकारले राहत वितरण गरिरहेका छन् । राहत वितरण पारदर्शी नभएको गुनासो आइरहँदा प्रदेश-५ को परासीमा भने राहत पाएकाहरूले नै राहत नगरपालिकाको गेटमै फालिदिएका छन् ।
पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिव तथा विपन्न समुदायले राहतका नाममा खान अयोग्य चामल दिएको भन्दै नगरपालिका अगाडि शुक्रबार खाद्यान्न फ्याँकी दिएका छन् । नगरपालिकाले उपलब्ध गराएको चामल खान अयोग्य देखिएपछि फालिदिएको स्थानीयले बताएका छन् । नगरपालिकाले शुक्रबार देखि १८ वटा वडामा राहत वितरण सुरु गरेको थियो । पहिलो दिनमै वितरण गरिएको राहत विपन्न परिवारले नगरपालिकाको गेटमै हुईर्कादिएपछि राहत वितरण र राहत सामग्रीको गुणस्तरबारे प्रश्न गठेको छ ।
१८ वटा वडा रहेको नगरपालिकाले कूल २३ सय विपन्न परिवारलाई राहत वितरण गर्न खाद्यान्न सामग्री खरिद गरेको छ । चामल गुणस्तरहीन रहेको जानकारी आएकाले गुणस्तर मापन गरेर राहत वितरण हुने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।
शुक्रबार बिहान वडा नं. ६ र ११ मा वितरण गरिएको खाद्यान्न गुणस्तरहीन भएको पाइएपछि नगरपालिकाले सबै वडामा राहत बाँड्न रोक लगाएको छ ।
