रामग्राम नगरपालिकाले वितरण गरेको चामल कम तौल

परासी, चैत २९ । पश्चिम नगरपालिकाको रामग्राम नगरपालिकाले वितरण गरेको राहतको चामलको बोरामा तौल कम रहेको पाइएको छ । राहत पाएका गरिब तथा विपन्न वर्गले प्राप्त राहतको चामलको १० र ५ किलोको बोरामा तौल कम रहेको दाबी गरेपछि रामग्राम नगरपालिकाले गुणस्तर तथा नापतौल कार्यालय बुटवलको टोलीलाई बोलाएको थियो ।
वितरीत राहतका बोरा चेकजाँच गर्ने क्रममा प्राय जसो सबैमा तौल कम रहेको पाईएको गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरिक्षक नुरुल ऐन भाटले जानकारी दिनुभयो । लगभग सबै बोरामा तौल कम पाईयो निरिक्षक भाटले भन्नुभयो, ‘‘अब नापतौलको मापदण्ड विपरित काम भएकाले कारवाही हुन्छ । उहाँका अनुसार कार्यालयलाई कारवाहीको अधिकार नभएकाले अदालतमा मुद्धा दायर गर्न सक्ने छ ।’’
नापतौलमा भएको लापरवाहि हेरिकन अधिकतम ३० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था रहेको छ । यस्तै शनिबार नै रामग्राम नगरपालीकाकै अनुरोधमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले पनि राहतको रुपमा वितरीत चामलको नमूना संकलन गरि ल्याब टेष्टका लागी लगेको छ ।
कार्यालयका खाद्य निरिक्षक श्रवण कुमार ढुंगानाले पत्रकारहरुलाई दिएको जानकारी अनुसार चामलको गुणस्तरीयता परिक्षणका लागी नमुना संकलन गरेको र परिक्षणको नतिजाँ आएपछि त्यसैको आधारमा कारवाही प्रक्रिया अगाडी बढ्ने छ ।
खाद्य वस्तुको गुणस्तरीयतामा खेलवाड गरेको भेटिएमा अधिकतम ५० हजार रुपैयाँ जरिवाना र ५ वर्ष सम्म कैदको व्यवस्था रहेको छ । ‘‘संकलीत नमुनको परिक्षण रिपोर्ट कहिले आउछ भन्ने बारे भने यसै भन्न सकिदैन तर केहि दिन भित्रै आउला,’’ निरिक्षक ढुंगानाले भन्नुभयो ।
रामग्राम नगरपालिकाले लकडाउनको समयमा प्रभावित गरिब तथा विपन्न वर्गको राहतका लागी वितरण गरेको चामल गुणस्तरहीन भएको भन्दै शुक्रबार नगरपालिकाको मुलगेटमा चामल फ्याकेर विरोध जनाएका थिए ।
नगरले राहतको रुपमा वितरण गरेको चामल गन्हाएको र खान लाएकोको नभएको राहत प्राप्त गरेकाहरुको भनाई छ । तर रामग्राम नगरपालिकाले भने राहत सामाग्रिका विषयमा गुणस्तरीयताको प्रश्न खडा भएपछि आवश्यक छानविन गर्ने बताएको छ ।