नवलपरासीमा राहतमै घोटलाः सर्वत्र आलोचना




रामकुमार श्रेष्ठ –
नवलपरासी, ३० चैत्र । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरिव तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण गरिएको राहतमै घोटला गरिएको पाइएको छ ।
नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण गर्दा कुहिएको चामल, म्याद नाघेको खाद्यान्न र तोकिए भन्दा कम तौल खाद्यान्न वितरण गरेर घोटला गरे पछि यसको सर्वत्र आलोचना भएको छ ।
पूर्वी र पश्चिम नवलपरासी गरी दुई जिल्ला रहेको नवलपरासीको १५ वटा स्थानीय तहहरुमा कतै खानै नपुग्ने गरी निक्कै कम राहत वितरण गरिएको छ भने कतै म्याद नाघेका र कुहिएका खाद्यान्न वितरण गरिएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कुहिएका चामल र म्याद नाघेका खाद्यान्न वितरण भएको पाइए पछि स्थानीयले विरोध स्वरुप त्यसलाई नगरपालिकाको गेट अगाडि नै राहत सामग्री फालिदिएका थिए ।
राहत वितरण घोटला भए पछि रामग्राम नगरपालिकामा अहिले राहत वितरण राकिएको छ । रामग्राम नगरपालिकामा अहिले राहत वितरणमा घोटला छानविन गर्नका लागि छानविन समिति समेत गठन गरिएको छ ।
त्यस्तै कतिपय स्थानीय तहमा वडाले गरिव विपन्न नभनेर राहत वितरणका लागि नाम टिपेर पठाएको भन्दा कम संख्यामा राहत पठाएपछि गरिव तथा विपन्नहरुले राहत नपाएको गुनासो गरेका छन् ।
पूर्वी नवलपरासीको कावासोती १६ सुन्दरवस्तीमा ३० घर विपन्न परिवार रहेका छन् । यहाँ रहेका सबै मजदुरी गरी खाने सुकुम्बासी परिवार हुन् । यहाँ वडाले सबै घरको नाम टिपेर लगे पनि आधाले मात्र राहत पाएको स्थानीयले गुनासो गरेका छन् ।
कावासोती ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले वडाले पठाएको संख्या भन्दा कम संख्यामा राहत आएपछि वितरणमा समस्या भएको बताए ।
कावासोती नगरपालिकामा कतिपय सम्पन्न परिवारले पनि राहत लगेको र कतिपय विपन्न परिवारले समेत राहत नपाएको उनीहरुको गुनासो छ । त्यसमाथि राहत निक्कै कम अर्थात प्रति परिवार १५ किलो चालम भए पनि कतिपय नाममात्रको राहत किन लिन भन्दै अस्वीकार गरेका छन् ।
यसैबीच बर्दघाट नगरपालिकामा लकडाउनका बेला खुलेका अत्यावश्यक सामग्री अर्थात खाद्यान्न पसलहरुमा चेक जाँच गर्दा समय गुज्रिएका खाद्य विक्री गरेको पाइएको छ ।


बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले अनुगमनको क्रममा म्याद गुज्रका पेयपदार्थ, ड्राइ फुड, मसला र औषधि समेत बरामद गरिएको बताए ।
ति पसलहरुलाई कारवाहीको दायरामा ल्याउने बर्दघाट नगरपालिकाले तयारी गरेको छ ।



सम्बन्धित
Loading...