लकडाउनका कारण नवलपुरका होमस्टेहरु सुनसान

रामकुमार श्रेष्ठ –
नवलपरासी । कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनको प्रभाव नवलपुरका होम स्टेहरुमा पनि परेको छ ।
नवलपुरमा फस्टाउँदै गएको होम स्टेहरु अहिले सुनसान देखिएको छ । नवलपुरमा ८ वटा होम स्टेहरु रहेका छन् । ति मध्येको एउटा हो कावासोती १५ मा रहेको अमलटारी होम स्टे ।
यहाँ ३१ घर होम स्टे रहेका छन् । होम स्टे स्थापना पछि आएको जनजीवन निक्कै उकासिएको छ । तर, लकडाउनका कारण होम स्टे बन्द गर्न परेपछि यहाँका ३१ घर बासिन्दा जो होम स्टेमा आउने पर्यटकबाट हुने आम्दानीको भरमा बाँचेका थिए उनीहरुको दैनिकी अहिले प्रभावित भएको छ ।
त्यसो त कोरोनाको संक्रमण देखिन थालेपछि सरकारले लकडाउन नगर्दै अमलटारी होम स्टेमा पर्यटक आवत जावत बन्द गरिएको थियो भने बुक भएका कार्यक्रमहरु समेत रद्द गरिएको थियो ।
नेपालको पहिलो होम स्टे अन्तरगत पर्ने पूर्वी नवलपरासीको होम स्टे अहिले सुनसान छ । पयर्टक आउजाउका लागि बन्द गरिएको छ । यहाँ खास गरेर चितवन राष्ट्रिय निकुञ्जमा जंगल सवारी गर्न मिल्ने भएको कारण पनि यहाँ आउन पर्यटकहरु लालायित हुने गर्दछन् । त्यसैगरी यहाँ थारु, बोट, माझी समुदायको परम्परागत कला संस्कृतिहरु हेर्न समेत पाइन्छ ।

लकडाउन भएपछि अहिले अमलटारी होम स्टे सुनसान भएको र यहाँका होम स्टे सञ्चालकहरुको दैनिकीमा पनि प्रभाव पारेको अमलटारी होम स्टेका अध्यक्ष प्रेम शंकर मर्दनियाले बताउनुभयो । उहाँका अनुसार यो लकडाउनको अवधिमा होम स्टे सञ्चालकका एक घर परिवारलाई कम्तिमा ६० देखि ७० हजार रुपैयाँ नोक्सान भएको बताउनुहुन्छ ।
यहाँ होम स्टेका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको चाप बढेपछि यहाँका बासिन्दाहरुले स्थानीय स्तरमा होटलहरु समेत सञ्चालन गरेका छन् । कुनै बेला कृषि पेशामा मात्र निर्भर रहनु पर्ने यहाँका बासिन्दाहरुमा होम स्टे सञ्चालन पछि जीवनयापनमा आकासपताल फेरिएको छ ।
अमलटारी होम स्टे सञ्चालक मध्येका एक जना नविन महतो भन्नुहुन्छ – अहिले आर्थिक रुपमा ठूलो समस्या भएको छ ।
नविन महतोले होम स्टे राम्रो भएपछि होम स्टे सँगै रिपोर्ट पनि सञ्चालन गर्नु भएको छ ।
अमलटारी होम स्टेमा गत आर्थिक बर्षमा मात्रै २२ हजार पर्यटकहरु आएका थिए । नयाँ बर्षको सिजन पर्यटकहरु आउने सिजनमा होम स्टे बन्द गर्नु परेपछि लकडाउनको अन्त्य भएपछि पनि पुरानै अवस्थामा फर्काउन निक्कै मेहनत गर्नु पर्ने अवस्था आउने सुनाउनुहुन्छ – अमलटारी होम स्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया ।
यो अमलटारी होम स्टे अमलटारी मध्यवर्ती उपभोक्ता समिति अन्तरगत रहेको गुदे्रही ढकाहा मध्यवर्ती सामुदायिक वनले सञ्चालन गरेको हो । होम स्टे सञ्चालनसँगै यहाँबाट निकुञ्ज भित्र वन्यजन्तु अवलोकनका लागि जंगल सफारी, हात्ती सफारी खोलिएको छ । जसले गर्दा पर्यटकहरुको थप आकर्षण बढेको थियो ।