सडकमा पैसा फाल्ने महिला दुई जनाकै रिपार्ट पोजेटिभ




जनकपुरधाम, बैशाख ७
कोरोना भाइरसको त्रासको बेला लुकीछिपी सडकमा जथाभावी पैसा फालेर भागेका दुई महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ।

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। यो रिपोर्टको आधारमा कोभिड-१९ संक्रमण रहेको भनि पुष्टी गर्न नसकिने हुनाले उनीहरु दुबैको पीसीआर विधिबाट स्वाबको टेस्ट भइरहेको प्रजिअ निरौलाले अन्नपूर्णलाई बताए।




शुक्रबार जनकपुरधामको महावीर चौकस्थित पेठीया बजार जाने सडकमा १०, ५ र २० को नोट जथाभावी फालेर यी महिला भागेका थिए। सडकमा फालिएको सो नोटमा थुक पनि हालिएको थियो। घटना लगत्तै प्रहरीले सो क्षेत्रमा विशेष निगरानी गरेर फालिएको नोट बरामद गर्नुका साथै चारैतिर सेनिटाइज गरेको थियो।

स्थानीयले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै महिलाको सीसीटीभी फुटेज निकालेर जनकपुरभरी सर्च अभियाननै चलाएको थियो। यसै क्रममा शनिबार दिउँसो दुवै पक्राउ परेका हुन्। पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालि—७ का हुन्। दुवैजना नातामा नन्द र भाउजू रहेको प्रहरीले बताएको छ।

उनीहरुको गतिविधि शंकास्पद रहेको हुनाले पक्राउ गरेर जाँचका लागि प्रादेशिक अस्पतालमा पठाइएको प्रजिअ निरौलाले बताए। हाल दुवै महिलालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ भने पीसीआर परीक्षण  भइरहेको छ।

केही महत्वपूर्ण समाचार

बाग्लुङकी ६५ वर्षीया महिला भन्छिन्- संसार हल्लाएको रोगलाई जितेँ

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो 

कोरोना संक्रमित युवती अस्पतालबाट ‘डिस्चार्ज’



सम्बन्धित
Loading...