तेलको मूल्यमा भारी गिरावट, दुई दशक यता कै सस्तो

अमेरिकामा सोमबार कच्चा तेलको मूल्य १५ डलर प्रति ब्यारेल भन्दा तल झर्यो ।यो विगत दुई दशक कै सर्वाधिक सस्तो तेलको मूल्य हो ।
यस्तो अवस्था आउनुमा संसारभर कोरोनाको कारण तेलको मागमा आएको कमी प्रमुख हो । त्यसै गरी तेल उत्पादनमा कटौती गर्ने निर्णय ढिलो हुनु पनि तेलको मूल्यमा गिरावट ल्याउने प्रमुख कारण मानिएको छ ।
सोमबार बजार खुल्ने बित्तिकै अमेरिकाको बेन्चमार्क वेष्ट टेक्सस इन्टरमिडिएट मा तेलको मूल्यमा १९ प्रतिशतको गिरावट आएको थियो । यसरी तीव्र गतिमा गिरावट हुँदा कच्चा तेलको मूल्य १४.७३ डलर प्रति ब्यरेलमा कारोबार भएको थियो ।
उता अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेंट मा समेत कच्चा तेलको मूल्य ४.१ प्रतिशतले झरेर प्रति ब्यारेल २६.९३ डलर सम्म पुगेको थियो । पछि केही सुधार हुँदा २८.११ डलरमा कारोबार भयो ।
यसअघि लामो समयसम्म तेल उत्पादक राष्ट्रको प्रतिनिधिको रूपमा रहेको साउदी अरब र रसियाबिच तेल उत्पादनमा कटौती गर्ने सम्झौता हुन नसक्दा समस्या भएको थियो । तर, ढिलै भए पनि यी दुई देशबिच सम्झौता सम्पन्न भयो । उनीहरू हरेक दिन १ करोड ब्यारेल उत्पादन कम गर्न सहमत भएका छन् ।
यो सबै प्रयासका बाबजुद तेल बजारमा देखिएको सङ्कटमा कमी आएको छैन । मूल्यमा लगातार गिरावट आइरहेको छ । विशेषज्ञहरू चाहिँ तेलको उत्पादनमा कटौती गरेर मात्र मूल्यमा आएको गिरावट कम गर्न सकिँदैन ।