कावासोतीमा तनाव व्यवस्थापन कार्यक्रम




कावासोती । लकडाउनको समयलाई सदुपयोग गर्दै रोट्र्याक्ट क्लब अफ कावासोतीले एक दिवसीय तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।

विगत एक महिनादेखि निरन्तर चलिरहेको लकडाउनका कारण कामकाजमा व्यस्त रहने मानिसमा घरभित्र बसिरहँदा शारीरिक, मानसिक एवं भावनात्मक तनाव सृजना हुने तथा पछिल्लो समयमा महामारीको रुपमा रहेको कोरोना भाइरसको बारेमा सचेतना प्रदान गर्ने उद्देश्यका साथ क्लबले नि?ःशुल्क तनाव व्यवस्थापन कार्यक्रमको आयोजना गरेको थियो ।




विभिन्न सामाजिक तथा आत्मानुशासनात्मक कार्यक्रमका लागि परिचित संस्था आर्ट अफ लिभिङ्गको सहकार्यमा गरिएको उक्त कार्यक्रममा सामाजिक दूरीको पालना गर्दै इन्टरनेटको माध्यमबाट जुम एप्लीकेसनको प्रयोग गरिएको कार्यक्रम संयोजक एवं रोट्र्याक्ट क्लब अफ कावासोतीका सामुदायिक सेवा निर्देशक बुलेट सिग्देलले जानकारी दिए ।

करिब २ घन्टाका लागि सञ्चालन भएको उक्त कार्यक्रमको सहजीकरण आर्ट अफ लिभिङ्गको नेपालका लागि प्रशिक्षक काव्य लम्सालले गरेका थिए ।

पूर्वी नवलपरासीको कावासोतीमा रहेको जीवन सिटी हस्पिटलका सन्चालक डा जीवन सापकोटाले कोरोना भाइरसको बारेमा विविध जानकारी गराएका थिए । कार्यक्रममा देश तथा विदेशका गरी करिब १५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम प्रभावकारी भएको र आगामी दिनहरुमा थप यस्तै चेतनामूलक कार्यक्रमको लागि हौसला प्राप्त भएको क्लबका अध्यक्ष परमानन्द गौतमले बताए ।



सम्बन्धित
Loading...