भारतमा कोरोनाको संक्रमण दर बढ्दोः एकैदिन ७१ को मृत्यु, ३३ हजार संक्रमित

१७ वैशाख । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । भारतमा बुधबार एकैदिन हालसम्मकै बढी ७१ जनाको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्र्डो मिटर्सले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ ।
त्यसैगरी भारतमा कोरोना संक्रमितहरुको संख्या ३३ हजार ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा (बुधबार) मात्रै भारतमा १ हजार ७३८ नयाँ संक्रमित फेला परेका छन् । मंगलबार त्यहाँ १ हजार ९०९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए भने ६९ जनाको मृत्यु भएको थियो ।
यसैबीच भारतमा कोरोना संक्रमितमध्ये ७ हजार ७४७ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । हाल २३ हजार ५४६ जना उपचार गराइरहेको जनाइएको छ ।