कोरोना अपडेट : सार्क राष्ट्रमा भारत सबैभन्दा बढी प्रभावित, अन्य मुलुकको अवस्था कस्तो ?
काठमाडौं– विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व त्रसित छ । दिनहुँ विश्वमा संक्रमित र मृत्युका घटना बढिरहेका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ ।
भारतमा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। भारतमा संक्रमितको संख्या ३३ हजार ६२ पुगेको छ।
भारतमा १ हजार ७९ जनाको मृत्यु भएको छ। ८ हजार ४ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा एकै दिनमा ९ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १५ हजार ५ सय २५ पुगेको छ। ३ सय ४३ जनाको मृत्यु भएको छ। ३ हजार ४ सय २५ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
बंगालादेशमा बुधबार ६ सय भन्दा बढी संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ७ हजार १ सय ३ पुगेको छ। १ सय ६३ जनाको मृत्यु भइसकेको छ। १ सय ५० जना मानिसलाई निको भइसकेको छ।
अफगानिस्तानमा बुधबार १ सय ११ नयाँ बिरामी थपिएका छन् भने २ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ९ सय ३९ पुगेको छ। ६० जनाको मृत्यु भइसकेको छ। २ सय ५२ जना मानिसलाई निको भइसकेको छ।
श्रीलंकामा बुधबार ३० जना मानिस संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ४९ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ३६ जना मानिस उपचार पछि घर फर्किसकेका छन्।
माल्दिभ्समा बुधबार २८ जना नयाँ बिरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेपालमा बुधबार ३ जना नयाँँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५७ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्। अब भुटानमा २ जना मात्र एक्टिभ संक्रमित रहेका छन्।