बर्दघाट र सुनवलका ४१ जनाको रिपोर्ट नेगेटिभ

परासी । पश्चिम नवलपरासीमा कोरोना छ छैन भनि एकिन गर्न गरिने आरटिपिसिआर परिक्षणका लागी पठाईएको पहिलो चरणको नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार प्राप्त रिपोर्ट अनुसार सुनवल र बर्दघाटका ४१ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थय कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले बताए ।
बुधबार सुनवलका ३७ जना र बर्दघाटको ४ जनाको नमुना स्वाब संकलन गरि परिक्षणका लागी टेकु स्थीत राष्ट्रिय प्रयोगशालमा पठाईएको थियो । टेकुबाट प्राप्त रिपोर्टका आधारमा सबैको रिपोर्ट नेगेटिभ आएपछि अब क्वारेन्टाईनमा बसेकाहरुलाई घर पठाउन सकिने छ । बाँकिको रिपोर्ट भने शनिबार आउने बताईएको छ ।
टेकुमा देशैभरबाट नमुना परिक्षणका लागी जाने भएकाले छिट्टै रिपोर्ट प्राप्त गर्न कठिन भएको छ । जिल्लामा नाकबाट स्वास्थ्यकर्मीले संकलन गरेको नमुना प्रदेश सरकारले पठाएको भिटिएममा राखि काठमाडौं सम्म पुर्याउने गरिन्छ । भिटिएम कोरोनाको नमुना संकलन गरेपछि त्यसलाई ल्याबसम्म पुर्याउने प्रयोग गरिने एक माध्यम हो । पश्चिम नवलपरासीमा हाल सम्म कसैमा पनि कोरोना संक्रमण भएको छैन् ।