उत्तर- दक्षिण कोरिया: दुई देशका सेनाबीच सिमानामा गोली हानाहान

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हानाहान भएको विवरण आएको छ।
दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा पछिल्लो घटना भएको हो।
दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको थियो।
त्यसपछि आफूहरूले चेतावनी दिएको र पछि गोली हानाहान शुरू भएको दक्षिण कोरियाले जनाएको छ।
घटनामा कुनै हताहती वा क्षति नभएको बताइएको छ।
पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सीधै गोली चलाएको विवरणमा जनाइएको छ।
सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना सार्वजनिक भएको छ।