परासीमा कोरोना भाइरसको संक्रमणको जोखिम मोलेर भत्ता लिंदै जेष्ठ नागरिक




परासी ।  पश्चिम नवलपरासीमा कोरोना संक्रमणको जोखिम मोलेर जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझेका छन् ।
पश्चिम नवलपरासीको केही स्थानीय तहले कोरोना संक्रमणको जोखिम र लकडाउनको अवस्थालाई मध्यनजर गरेर घरघरमा पुगेर वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको भए पनि केहीले भने बैंकमै जम्मा गरिदिएका कारण जेष्ठ नागरिकहरु जोखिम मोलेर भत्ता बुझ्न बाध्य भएका हुन् ।
उनीहरु केही दिन यता नजिकको बैंकमा सामाजिक सुरक्षा भत्ता लिन सयौंको संख्यामा र घण्टौं लाइनमा बस्ने गरेका छन् ।
परासीको रामग्राम नगरपालिका, सुनवल नगरपालिका लगायतका नगरपालिकाले सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक, एकल महिला, शारिरिक अपाङ्गता भएकाहरुको नाममा उनीहरुकैं बैंक खातामा जम्मा गरिदिएको छ ।
सोमबार विहानैदेखि सदरमुकाम परासीमा रहेको नेपाल एसविआई बैंकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि सयौंको संख्यामा मानिसहरु भिड भएका थिए । उनीहरुले प्रशासन र स्थानीय सरकारले ध्यान नपुर्याउँदा कोरोना भाइरसको जोखिम मोलेरै भत्ता बुझ्न आउन बाध्य भएको बताएका थिए ।
परासी, भुमही, सुनवल लगायतका क्षेत्रमा रहेका बैंकहरुमा सामाजिक सुरक्षा भत्ता बुझ्न आउनेहरुको पछिल्लो २÷४ दिन यता भिड लाग्ने गरेको छ । जसले गर्दा कोरोना संक्रमणको जोखिम बढेको नागरिक समाजका अध्यक्ष कैलाश ठाकुरले बताए ।
सामाजिक सुरक्षा भत्ता बुझ्न आउने कतिपयले माक्स लगाएको भए पनि अधिकांश माक्स विना नै सामाजिक दुरी पनि कायम नगरी लामबद्ध भएर बसेको देख्न सकिन्थ्यो ।
नागरिक समाजका अध्यक्ष कैलाश ठाकुरले प्रशासन र स्थानीय तहले यस विषयमा बेलैमा ध्यान नदिंदा जोखिम बढेको बताए ।
पश्चिम नवलपरासीमा पछिल्लो केही दिन यता साँझ विहान मुख्य चोक र सडकहरुमा मानिसहरुको भिड बढ्न थालेको छ । प्रशासनले भने मानिसको आवश्यकता हेरिकन लकडाउन केही खुकुलो बनाईएको बताउदै आएको छ ।



सम्बन्धित
Loading...