अस्पतालभित्रै नाचगानमा मस्त रुपन्देहीका कोरोना संक्रमित


भगवती पाण्डे –
बुटवल, वैशाख २३ –



गत शुक्रबार रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ पुर्निहवाका २५ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। वैशाख ५ गते भारतबाट गाउँ आएका उनलाई सोही दिन गाउँपालिकाको क्वारेन्टाइनमा राखिएकै अवस्थामा संक्रमण पुष्टि भएपछि बुटवल कोरोना आइसोलेसन अस्पतालमा ल्याइयो।

सुनसान र एकान्त स्थानमा रहेको बुटवल धागो कारखानामा बनाइएको ५० बेडको अस्पतालमा एक जनामात्र संक्रमित कसरी बसेका होलान् र उनको उपचार तथा रेखदेख कसरी भइरहेको होला?




आइसोलेसन अस्पताल तयार भएलगत्तै रुपन्देहीको सैनामैनाका बाबुराम थापा क्षेत्रीको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएपछि कोरोना अस्पताल र स्वास्थ्यकर्मीहरूका बारेमा विभिन्न टीकाटिप्पणी बाहिर आएका थिए।

यसपटक पनि कोटहीमाईका ती युवा आइसोलेसन अस्पतालबाटै भागेको भन्ने सामाजिक सञ्जालमा हल्ला चलाइरहँदा उनी अस्पतालभित्रै गीत बजाएर नाचेर दिन बिताउने गरेको भिडिओ सार्वजनिक भएको छ।

शुक्रबार साँझ आइसोलेसन अस्पतालमा ल्याइँदा नै सामान्य अवस्थामा रहेका उनी दिनभरि एक्लै अस्पतालभित्र बस्दा न्यास्रो लाग्न थालेपछि अस्पताल प्रशासनको सहयोगमा गीत बजाएर नाच्दै दिन कटाउने गरेका छन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले एक्लै अस्पतालभित्र बसिरहँदा न्यास्रो लाग्न थालेपछि फ्रेस हुन गीत बजाएर नाच्ने भनेपछि स्पिकर बजाएर गीत लगाइदिने गरेको बताए।

‘ठूलो अस्पतालभित्र एक्लै बस्न थालेको पाँच दिन भयो, दिनरात एक्लै बस्नुपर्दा न्यास्रो लाग्नु स्वभाविक हो, गीत बजाएर नाच्न र फ्रेस हुन खोजेपछि हामीले सहयोग गरेका हौं’, उनले सेतोपाटीसँग भने।

‘गीत-संगीत गाउँदा र नाच्दा शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत स्फुर्ति आउँछ, अस्पतालभित्र रमाइलो वातावरण बनाउन सके थेरापीको काम पनि गर्न सक्छ’, उनले भने। संक्रमित युवाले सोमबार आफैंले गीत बजाएर नाच्न खोजेपछि साउण्ड सिष्टममा गीत लगाइदिएको डा. थापाले जानकारी दिए।



सम्बन्धित
Loading...