भारतीय बजारमा जान पाउनु पर्ने माग गर्दै प्रहरी चौकीमाथि आक्रमण

परासी, २३ बैशाख । नवलपरासीमा नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी चौकीमा आक्रमण भएको छछ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको भूजहवास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी स्थायी पोष्टमाथि सोमबार राति आक्रमण गरेका हुन् ।
नेपाल भारत दुवैतर्फ विभिन्न खाद्यान्न तथा अन्य सामग्रीहरुको ओसारपसार गर्ने भारतीय तस्करहरुले आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए ।
पछिल्लो समय कोरोनाका संक्रमण र लकडाउनका कारण सीमा क्षेत्रमा अवैध रुपमा ओसारपसार गरिएको सामग्रीहरु बरामद गर्ने क्रम बढेपछि उनीहरुले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।
धानको बीउ किन्न सीमावर्ती भारतीय बजारमा जान पाउनु पर्ने निउँ निकालेर उनीहरुले पोष्टमाथि ढुंगामुडासहित आक्रमण गरेका हुन् । ढुंगामुडा गर्ने अधिकांश व्यक्ति विगतमा भारतबाट अवैध सामान भित्राउने कारोबारीहरु रहेको स्थानीयले बताएका छन् । सोमबार राती ९ बजेको समयमा आएका ५०÷६० जनाको समूहले बीउको बहाना निकालेर पोष्टमाथि ढुंगामुडा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए ।
ढुंगामुडा हुन थालेपछि शसस्त्र प्रहरीले लाठी चार्ज गरी भिडलाई तितर बितर पारेको थियो । ढुंगामुडा हुँदा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी समेत प्रहरी पोष्टमा थिए । अध्यक्षले सीमा क्षेत्रको अवलोकन गरेर थप जानकारी लिन पोष्ट पुगेको बेला घटना भएको थियो ।
जिल्लाका किसानहरुले हाइब्रिड धानको बीउ लगाउने गरेका छन् । हाइब्रिड बीउ नेपालमा उपलब्ध नहुने भएकाले विगतमा किसानहरु भारतीय बजार जाने गरेका थिए । बीउको बहानामा आएका अधिकांश किसान नभई बिगतमा २ नम्बरी गर्ने व्यक्तिहरु रहेको अध्यक्ष चौधरीले बताए ।
