प्लटिङ गरेको जग्गा जोतेर मकैखेती
पूर्वी चितवनको रत्ननगरमा जग्गा व्यवसायीले प्लटिङ गरेर बाँझो रहेको जग्गामा खेती गर्ने कामलाई तीव्रता दिइएको छ । वडा नं–१४ पछि रत्ननगर नगरपालिकाको वडा नं–४ मा बाँझो जमिन जोतेर सामूहिक खेती गर्न सुरु गरिएको हो ।
कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गलाई उत्पादनशील क्षेत्रमा लगाउन रत्ननगर नगरपालिकाले सामूहिक खेती सुरु गरेको हो । वडा नं–४ मा ८ बिघा बाँझो जमिन जोतेर विपन्न वर्गलाई मकै र पशुपालक किसानहरूलाई घाँसखेती गर्न दिइएको वडाध्यक्ष रवीन्द्र चौधरीले जानकारी दिए ।
सो वडाअन्तर्गत देवौलीमा ४ बिघा र सेरीमा ४ बिघा जग्गा जोतेर विपन्न वर्गले मकै र घाँसखेती लगाउन सुरु गरेका छन् । मकैखेती गर्नका लागि नगरपालिकाले जोताइ खर्च, बीउ र मल उपलब्ध गराएको छ । ८ बिघामा खेती गर्न विपन्न समुदायको १२ वटा समूह बनाइएको छ ।
‘सधैँ अर्काले दिएको खानेकुराले जीवन चल्दैन’, रत्ननगरका मेयर नारायण वनले भने, ‘आफ्ना लागि आफैँले केही गर्नुपर्छ भन्ने मान्यताका साथ विपन्न वर्गलाई सामूहिक खेती गर्न लगाइएको हो ।’ उनले नगरभित्र रहेका बाँझो जमिनको पहिचान गरी विपन्न वर्गलाई खेती गर्न लगाइने बताए । यसअघि सो नगरपालिकाले वडा नं–१४, पिठुवामा ३० बिघा बाँझो जग्गा जोतेर विपन्न वर्गलाई मकैखेती गर्न लगाएको छ ।
